घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न माग

बैंकमा भिडभाड हुँदा कोरोनाको जोखिम


नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकामा बस्ने स्थानीयले घरघरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्न माग गरेका छन । कोरोना भाइरसको सन्त्रासका बिच नेपालगन्जमा सामाजिक दुरी कायम नगरेरै बैंकबाट भत्ता वितरण गर्न शुरु गरेपछि लाभग्राहीहरुले कोरोनाको जोखिम बढेकोले घरमै वितरण गर्न माग गरेका हुन ।
आईतबार नेपालगन्जको धम्बोजीस्थित साँग्रीला डेभलपमेन्ट बैंकमा भत्ता बुझ्न लाईन लागेका नेपालगन्जका धेरैजना जेष्ठ नागरिक, एकल महिला लगायतले नेपालगन्जमा २४ जनामा कोरोना देखिईसकेको अवस्थामा आफुहरु जोखिममा रहेको गुनासो गरे । ‘कोरोना भाइरसका कारण मास्क लगाउने, टाढा बस्ने, एक अर्कालाई नछुने भनिएको छ, तर यहाँ त ठेलम ठेल भिडभाड छ’ नेपालगन्ज २ घरबारीटोलकी रामानारी कोरीले भनिन ‘यहाँका धेरैजनालाई कोरोना भेटीयो भन्छन यसरी त हामीलाई पनि सर्न सक्छ ।’
लामो समय सम्म भत्ता वितरण हुन नसकेपछि नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर २ र १२ ले साँग्रीला डेभलपमेन्ट बैंकसंग समन्वय गरेर भत्ता वितरण गर्न शुरु गरेका हुन । आफुहरुले थोरै जनालाई सामाजिक दुरी कायम गरेर वितरण गर्न भनेपनी जनशक्ती अभावमा बैंकमा भिडभाड बढेपछि भोलीदेखि वडा कार्यालयबाटै वितरण गर्ने तयारी थालेको वडा नम्वर १२ का वडा सचिव केदारप्रसाद अधिकारीले बताए ।
विश्व स्वास्थ्य संगठनले दिर्घरोगी, रोगप्रतिरोधात्मक क्षमता कम भएका विरामी र ज्येष्ठ नागरिकमा कोरोना भाइरसको संक्रमण दर तिब्र रहेको भन्दै सचेत रहन अनुरोध गरेको छ । तर कोरोनाको जोखिमयुक्त क्षेत्रमै यसरी सामाजीक दुरी बिनै भिडभाड गर्दा यसले ठुलो दुर्घटना निम्त्याउन सक्ने भएकोले त्यसतर्फ सचेत हुन जरुरी छ ।