कोरोना जित्ने पत्रकार र नर्स भन्छन्, ‘कोरोना रोगभन्दा डरलाग्दो समाजको मनोवैज्ञानिक त्रास जित्न जरुरी छ’

कोरोना जितेपछि पत्रकार र नर्स । फोटोहरु : कमल डाँगीको फेसबुकबाट

नेपालगन्ज : शनिबार बाँकेको खजुरास्थित सुशील कोइराला क्यान्सर प्रखर अस्पतालको आइसोलेसनबाट नेपालगन्ज र नरैनापुरका दुई पुरुष र दुई महिला कोरोना एकैदिन निको भएर घर फर्के । त्यसैमध्ये थिए, पत्रकार र नर्स दम्पत्ति ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार र नर्सलाई कोरोना संक्रमण भएको पुष्टि नहुँदै उनीहरु अघिल्लो दिन नै आइसोलेसनमा पुगिसकेका थिए । आफ्नो विषयमा जनप्रतिनिधिले चासो नदिएको भनेर संक्रमित पत्रकारले टिप्पणी गरेका थिए तर अस्पतालबाट डिस्चार्ज हुने क्षणमा भने खजुरा गाउँपालिका अध्यक्ष किश्मतकुमार कक्षपति र नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरले खजुरा पुगेर फुलगुुच्छाले स्वागत गरेका थिए । त्यसपछि भने नेपालगन्ज उपमहानगरपालिका २ निवासी यी स्वास्थ्यकर्मी र पत्रकारले कोरोना जितेकोमा सामाजिक सञ्जाल, फोन र भेटेर बधाइ दिनेको ओइरो नै लागेको थियो । । जब उनीहरु आफ्नै टोलमा पुगे, तब छिमेकीले पनि निकै सौहार्दता देखाएर स्वागत गरे । संक्रमण अवधिभर दुबै जनाको स्वास्थ्य अवस्था सामान्य नै रह्यो । ‘ स्वास्थ्य सुरक्षा उपाय अपनाउन कुनै कसर बाँकी राखेनौं । त्यसैले कोरोना जित्यौं’, उनीहरु भन्छन्, कोरोनासँग लड्न सजिलो छ, जितिन्छ । कोरोना रोगभन्दा समाजको मनोविज्ञान त्रास सबैभन्दा डरलाग्दो रहेछ । यसलाई पनि जित्न जरुरी छ ।’