प्रदेश ५ को ४९% र देशको १६% संक्रमित कपिलवस्तुका

देशका प्रदेश १, बागमति, गण्डकी र सुदूरपश्चिम प्रदेशका कूल संक्रमितको संख्या जोड्दा पनि कपिलवस्तुका कोरोना संक्रमितको संख्या ५ ले बढी हुन्छ

नेपालगन्ज : नेपालमा सबैभन्दा बढी कोरोना संक्रमित कपिलवस्तु जिल्लामा छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार बिहानसम्म देशका ७० जिल्लामा तीन हजार दुई सय ३५ जनामा कोरोना संक्रमण पुष्टि गरेको छ । जसमा प्रदेश ५ का एक हजार ६१ जना छन्
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाका अनुसार कपिलवस्तुका सबै (१० वटा) स्थानीय तहमा कम्तीमा २१ जनादेखि बढीमा एक सय ३७ जना गरी पाँच सय २३ जना संक्रमित रहेका छन् । यो तथ्याङ्क प्रदेश ५ को कूल कोरोना संक्रमितको झन्डै आधा हो । प्रदेश ५ को एक हजार ६१ मध्ये ४९.२९ प्रतिशत त कपिलवस्तुकै मात्र छन् । देशभरका कूल संक्रमितमध्ये कपिलवस्तुका मात्र १६.१६ प्रतिशत हो ।
देशका आधाभन्दा बढी प्रदेशको कूल संक्रमित संख्यालाई एक्लो कपिलवस्तुले उछिनेको छ । प्रदेश १ (२४९), बागमति (९०), गण्डकी (७३) र सुदूरपश्चिम (१०६) को कूल संक्रमितमध्ये कपिलवस्तुको संक्रमित पाँचले बढी छ । बागमति, गण्डकी र सुदूरपश्चिम प्रदेशका कूल संक्रमित संख्याभन्दा बढी कपिलवस्तुको यशोधरा गाउँपालिकामा नै धेरै (१३७) संक्रमित छन् ।