प्रदेश ५ का सबै (१२) जिल्लामा कोरोना संक्रमण फैलियो, रोल्पामा पनि भेटिए २ संक्रमित

नेपालगन्ज : प्रदेश ५ को १२ जिल्लामै कोरोना संक्रमण फैलिएको छ ।
भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा दिउँसो रोल्पाको सुनिल स्मृति गाउँपालिका ५ का २० र २७ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश ५ मा रोल्पामा मात्र कोरोना संक्रमण भएको थिएन् । भेरी अस्पतालमा बाँकेको खजुरा गाउँपालिका ७ का दुई र वडा नं. ४ का एक गरी थप तीन जना र बर्दियाको गुलरिया नगरपालिका ३ मा पनि थप एक जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारसम्म प्रदेश ५ का ११ जिल्लामा एक हजार ६१ जनामा कोरोना संक्रमण पुष्टि गरेकोमा आइतबारका थप ६ जना गरी एक हजार ६७ जनामा कोरोना संक्रमण भएका छन् । प्रदेश ५ मा सबैभन्दा बढी कपिलवस्तुमा पाँच सय २३ र बाँकेमा दुई सय ७० पुगेको छ ।