यसरी भागे आइसोलेसनबाट संक्रमित…

जोगागाउँ (बाँके) : बाँकेको जानकी गाउँपालिकाको आइसोलेसनबाट एक जना कोरोना संक्रमित भागेका छन् ।
जानकी गाउँपालिका २ जोगागाउँको श्री माध्यमिक विद्यालयको आइसोलेसनबाट मंगलबार बिहानै शौचालय जाने बाहानामा एक जना भागेका हुन् । नेपालगन्ज उपमहानगरपालिका १२ घर भएका संक्रमित हुन् । उनी नेपालगन्जको क्वारेन्टाइनबाट पनि भागेका थिए ।
जोगागाउँको आइसोलेसन बनाइएको विद्यालय भवनाको पूर्वी प्रवेशद्वारमा फलामे ढोका छ । तीनतिर विद्यालय भवनले पर्खालको काम गरेको छ । दक्षिणतिर भने भवन निर्माणको काम भइरहेकाले डोरीको बार मात्र लगाइएको छ । त्यही बाटो उनी भागेका थिए ।
मंगलबार बिहान ९ बजेतिर मेरो खुसी डट कमको टिम आइसोलेसन सेन्टरमा पुग्दा आइसोलेसनमा रहेका एक जना युवाले रातिको १ बजेसम्म सँगै रहेको व्यक्ति पिसाब फेर्ने बाहानामा कति बजेतिर भाग्यो भन्ने कसैलाई थाहा नभएको बताए ।
जानकी गाउँपालिका १ का वडा अध्यक्ष मोहम्मद रजा राईले आइसोलेसनबाट संक्रमित भागेको खबर आफूले बिहान ४ बजेतिर पाएको बताए । उनले भने, ‘खबर पाउने बित्तिकै म आइसोलेसनमा गए । त्यसपछि उसको नेपालगन्जको घरमा पनि गए । त्यहाँ पनि भेटिएन । कहाँ गयो, गयो ।’
सन्चारकर्मी पुग्दा आइसोेलेसन भवन भन्दा दक्षिण पूर्वमा कालोपत्रे सडकपारीको आँपको बोटमुनी तीन जना स्वास्थ्यकर्मी बसिरहेका थिए । उनीहरुको छेउमै दुई वटा टेन्ट पनि थिए । टेन्टभित्र विद्युत जडान नभएकाले स्वास्थ्यकर्मी रुखकै छायाँमा बसिरहेका छन् । आइसोलेसनको दक्षिणतिर आँपको बोटमुनी कुर्सीमा बसेर प्रहरीले पहरा दिइरहेका थिए । साथमा एक जना युवा स्वयंसेवक पनि थिए । बेलहरि स्वास्थ्य चौकीमा कार्यरत जनस्वास्थ्य निरीक्षक श्यामलाल वेल्वासेले भने, ‘हिजो बिहान ११ बजे भाग्ने संक्रमितको ज्वरो नापिएको थियो । बिहान एक्कासी भागेको खबर पायौं ।’
स्थलगत समाचार संकलनमा जाँदा यो आइसोलेसन नाम मात्रको जस्तो आभाष हुन्थ्यो । एउटै कोठामा ११ जनासम्मलाई राखिएको संक्रमितहरुले बताएका थिए । जहाँ जानकी गाउँपालिका १ का ४१ जना संक्रमित छन् । दुई जना नेपाल प्रहरी र स्वास्थ्यकर्मीका एक सिफ्टमा दुईदेखि तीन जना बस्छन् । यी व्यवस्था हेर्दा क्वारेन्टाइन र आइसोलेसनबीच कुनै भेद पाइन्न ।
वडाअध्यक्ष राई भन्छन्, ‘हामीले यहाँ कुनै हालतमा पनि यहाँ आइसोलेसन बनाउनु हुन्न भनेर विरोध गर्दा सिडियोको आदेश हो भनेर बनाए । सुरुमा केही दिन हो । कृषि तालिम केन्द्रमा लैजान्छौं भनेका थिए । १८ जनालाई भन्दा बढीलाई राख्ने ठाउँ छैन । भेंडा बाख्रालाई जस्तै राखिएको छ ।’