क्वारेन्टाइनका युवालाई सर्पले टोक्यो

क्वारेन्टाइन नै असुरक्षित भयोे भन्दै स्थानीयले विरोध प्रदर्शन गरेपछि सबैलाई घर फिर्ता
जानकी -१ बढैयाको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको क्वारेन्टाइन र इन्सेटमा मारेको सर्प । फोटो : मेरो खुसी

बढैया (बाँके) : बाँकेको जानकी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक जना युवालाई सर्पले टोकेको छ ।
जानकी १ बढैयाको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको क्वारेन्टाइनमा बसेका सुन्दरलाल काँदुलाई सोमबार राति १०ः३० बजेतिर सुतिरहेको बेला सर्पले टोकेको वडा नं. १ का वडा अध्यक्ष मो.रजा राईले जानकारी दिए । सर्पलाई राति नै मारेर युवाहरुले खेतमा फालेका थिए ।

रातिको घटना भए पनि आठ दश वटा एम्बुलेन्सहरुले लिन आउन आग्रह गर्दा पनि नमान्दा बिहान ८ बजेतिर मात्र युवालाई भेरी अस्पतालमा भर्ना गरिएको वडाध्यक्ष राईले बताए । जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्री अस्पतालमा रहेका युवाको स्वास्थ्य अवस्था सामान्य रहेको बताउँछन् ।

सर्पले क्वारेन्टाइनमा बसेका युवालाई टोकेपछि राति नै स्थानीयले घर लैजान पाउनुपर्ने भन्दै विरोध प्रदर्शन गरेका थिए । ‘अहिले सबै घर जानुस् । भोलि बिहान सबैलाई घर पठाइदिन्छु भनेर पठाए । आज सबै जनालाई विदाइ गर्छु ।’ क्वारेन्टाइनमा १९ जना युवालाई राखिएको थियो । उनीहरु सबैको कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आए पनि केही दिनदेखि क्यारेन्टाइनमा बसिरहेका थिए । ९ जेठदेखि उनीहरु क्वारेन्टाइनमा बसिरहेका छन् ।