युनेस्को क्लबद्वारा नेपालगन्ज र नरैनापुरका क्वारेन्टाइनलाई १४ लाखको सामाग्री सहयोग

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ नेपालगन्ज उपमहानगरका प्रमुख डा. धवल शम्शेर राणा र नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहलाई सामग्री हस्तान्तरण गर्दै । फोटो सौजन्य : बाँके युनेस्को क्लब

नेपालगन्ज : बाँके युनेस्को क्लबले नेपालगन्ज उपमहानगरपालिका र नरैनापुर गाउँपालिकाका क्वारेन्टाइनलाई १४ लाख रुपैयाँभन्दा बढीका सामाग्रीहरु सहयोग गरेको छ ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सहयोग गरिएका सामग्रीहरुमा पी फोम, झुल, बेड कभर, साबुन, तौलिया, पेस्ट, व्याग, मञ्जन, ब्रस, नेल कटर, काइयो, सर्जिकल मास्क, स्यानेटरी प्याड, खेल सामाग्री र रेडियो सहितको म्यूजिक सिस्टम रहेको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताए । नेपालगन्ज महेन्द्र बहुमुखी क्याम्पसमा तीन सय जनालाई पुग्नेगरी चार लाख ६१ हजार रुपैयाँ र नरैनापुरका ८ वटा क्वारेन्टाइनलाई पुग्ने नौ लाख ४९ हजार रुपैयाँको सामाग्री प्रदान गरिएको क्लबले जनाएको छ ।

प्लान इन्टरनेशनलको एरिया कार्यालय नेपालगन्जका प्रमुख मीना पराजुली बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङलाई सामग्री हस्तान्तरण गर्दै । फोटो सौजन्य : बाँके युनेस्को क्लब

प्लान इन्टरनेशनलको एरिया कार्यालय नेपालगन्जका प्रमुख मीना पराजुलीले मंगलबार बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङमार्फत ती सामग्री हस्तान्तरण गरेकी हुन् । प्रजिअ कुरुम्वाङले नेपालगन्ज उपमहानगरका प्रमुख डा. धवल शम्शेर राणा र नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहलाई सामग्री प्रदान गरेका थिए ।