एउटै कोठाका ५ को स्वाब परीक्षण गर्दा ३ जनामा कोरोना !
नेपालगन्ज : बाँकेको कोहलपुर नगरपालिकामा पहिलो पटक कोरोना देखिएको छ ।
नगर प्रमुख लुटबहादुर रावतका अनुसार आरडीटी रिपोर्ट पोजेटिभ आएका युवाहरुको स्वाब परीक्षण गरी भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा पीसीआर प्रविधिबाट परीक्षण गर्दा ३ जनामा कोरोना पुष्टि भएको हो ।
ज्ञानज्योति माविको क्वारेन्टाइनमा बसेका कोहलपुर १२ का संक्रमितमध्ये दुई जनाको उमेर १८ र एक जनाको २२ रहेको छ । तीन जना नै भारतबाट आएका हुन् । १३ दिन क्वारेन्टाइनमा बसेपछि उनीहरुको आरडीटी परीक्षण गरिएको थियो । तीन जनामध्ये एक जनाको आरडीटी पोजेटिभ आएपछि उनीसँगै एउटै कोठामा बसेका अन्य चार जनाको २१ जेठमा स्वाब संकलन गरी परीक्षण गर्दा तीन जनामा कोरोना पुष्टि भएको नगरपालिकाको स्वास्थ्य शाखा संयोजक डिल्ली पोखरेलले बताए । दुई जनाको भने रिपोर्ट नेगेटिभ आएको थियो । कोहलपुरमा आरडीटी पोजेटिभ आएका थप ६ जनाको रिपोर्ट भने अझैै आउन बाँकी छ ।
योसँगै बाँके जिल्लामा कोरोना संक्रमितको संख्या दुई सय ८२ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । १९ वैशाखमा नेपालगन्जका ६० वर्षका वृद्धमा पहिलो संक्रमण देखिएको बाँकेका अन्य सात वटा स्थानीय तहमा यस अघि नै कोरोना पुष्टि भइसकेको छ ।