घुम्ती शिक्षक परिचालन गरेर पढाइ

नेपालगन्ज : बाँकेको राप्तीसोनारी गाउँपालिकाले लकडाउन अवधिमा घुम्ती शिक्षक परिचालन गरेर वैकल्पिक शिक्षा दिने तयारी गरेको छ । गाउँपालिकाको शिक्षा समितिको बुधबार बसेको बैठकले विद्यार्थीलाई घरमै बसेर पढ्ने वातावरण बनाउन घुम्ती शिक्षक परिचालन गर्ने निर्णय गरेको हो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतका अनुसार विद्यार्थीलाई एक हप्ताभित्र पुस्तक वितरण गरिसक्ने र त्यसपछि घरघरमा पुगेर शिक्षकले विद्यार्थीको पढाइको स्तर जाँचेर पढाउनेछन् । हरेक विद्यालयबाट तह अनुसार शिक्षक परिचालन हुने र उनीहरुले नै विद्यार्थीलाई पालैपालो पढाउनेछन् । विद्यालयले तह अनुसार कक्षा १ देखि १० सम्म हेर्ने फरक फरक शिक्षकलाई आफ्नो सेवा क्षेत्रमा खटाउँछ । सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीलाई लक्षित गरेर घुम्ती शिक्षक परिचालन गर्न थालिएको प्रमुख प्रशासकीय अधिकृत बस्नेत बताउँछन् । गाउँपालिकामा ५४ वटा सामुदायिक र १६ वटा संस्थागत विद्यालय सञ्चालनमा छन् ।