गर्भवती तथा सुत्केरी महिलालाई सुरक्षित सामग्री सहयोग

विष्णु अधिकारी । गुलरिया
विपन्न परिवारका गर्भवती तथा सुत्केरी महिलालाई कोरोनाको संक्रमणबाट जोगाउन सुरक्षित सामग्री वितरण गरिएको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा ओरेक नेपालको पहलमा जिल्लाको गुलरिया नगरपालिकाका दुई सय र बढैयाताल गाउँपालिकाका एक सय जना महिलालाई धोती, म्याक्सी, स्वीटर, पेटिकोट, भित्रि बस्त्र, बच्चा बोक्ने कपडा, प्याड, टर्च लाईट तथा व्यक्तिगत सरसफाईका सामग्री सहयोग गरेको महिला पुर्नस्थापना केन्द्र बर्दियाकी कार्यक्रम संयोजक शर्मिला निरौलाले बताइन् । गर्भवती तथा सुत्केरी महिलालाई कोरोनाबाट सुरक्षित राख्ने उद्देश्यले सामग्री वितरण गरिएको संयोजक निरौला बताउँछिन् ।
गुलरियाका वडा नं. ५, ६ र ७ मा वितरण गरिएको हो । नगर प्रमुख मुक्तिनाथ यादवले विपन्न परिवारका सुत्केरी तथा गर्भवती महिला तथा बालबालिकालाई सुरक्षित सामग्रीबाट राहात मिलेको बताएका छन् ।
बढैयातालको भने सबै ९ वटै वडामा सहयोग गरिएको छ । गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ यस्ता सामग्रीबाट लक्षित वर्गका महिलालाई कोरोनाको जोखिमबाट जोगिन सहयोग पुग्ने बताउँछन् ।गाउँपालिकामा यस्ता विपन्न परिवार ठूलो संख्यामा भएकाले अरुलाई पनि सहयोग गर्न उनले आग्रह गरेका छन् ।