जनकल्याण सहकारीद्वारा कर्मचारीको कोरोना बिमा

मानबहादुर ठकुल्ला । टीकापुर
कैलाली टीकापुरको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना कर्मचारीहरुको कोरोना बिमा गरेको छ ।
विश्वभर फैलिएको कोरोना महामारीको प्रभावमा परेको टीकापुर क्षेत्रमा रहेर कोरोना भाइरस (कोभिड–१९) को त्रासमा पनि शेयर सदस्यहरुका बीचमा गएर प्रत्यक्ष रुपमा काम गर्नुपर्ने भएकोले सहकारीका ४ जना कार्यालय कर्मचारी र ७ जना बजार प्रतिनिधि गरी ११ जनाको कोरोना बिमा गरिएको सहकारीका व्यवस्थापक छविलाल जैशीले जानकारी दिए ।
कोरोना भाइरसको महामारीको बीच नेपाल सरकारले लकडाउन गरेको अवस्थामा पनि सहकारीले आफ्ना सदस्यहरुका लागि अत्यावश्यक सेवाहरु सुचारु गर्दै आएको सहकारीका अध्यक्ष बद्रिप्रसाद भट्टराईले बताए । लकडाउनका कारण बजार पुरै बन्द भएपछि रोकिएको बजारबाट बजार प्रतिनिधिमार्फत् बचत संकलनको कार्यसमेत जेठ २९ गते बिहिबारदेखि सुचारु भएको छ ।
बन्दाबन्दीका कारण बजार पुरै बन्द भएपछि रोकिएको बचत संकलनको कार्य बन्दाबन्दी केहि खुकुलो भएर बजारमा पसलहरु खुल्न थालेपछि बजार प्रतिनिधिहरुलाई मास्क, सेनिटाइजर, पञ्जा लगायत आवश्यक आधारभूत स्वास्थ्य सुरक्षाका सामाग्रीहरु उपलब्ध गराएर दैनिक लगायतका बचत संकलनको कामलाई पनि सुचारु गरिएको उनले बताए । सहकारीले टीकापुर नगरपालिकालाई राहतस्वरुप बन्दाबन्दीको शुरुवाती अवस्थामा नै ११ हजार एक सय रुपैयाँ नगद सहयोग गरेको थियो ।