विश्वमा कोरोना बढी हुनेमा भारत चौथो देश

नेपालगन्ज : नेपालको दक्षिणी छिमेकी देश भारत विश्वमा कोरोना बढी संक्रमण हुने देशको चौथो सूचीमा पुगेको छ ।
विश्वभरको कोरोना रिपोर्ट अपडेट गर्ने वेभसाइट वल्र्डोमिटर्स् डट इन्फोको शुक्रबार बिहान ९ः१५ अनुसार भारतले बेलायतलाई पनि संक्रमितको संख्यामा उछिनेको छ । भारतमा झन्डै तीन लाख संक्रमित पुगेका छन् भने साढे ८ हजार जनाको कोरोनाबाट ज्यान गइसकेको छ । बितेको २४ घण्टामा मात्र भारतमा ११ हजार १ सय २८ नयाँ संक्रमित र तीन सय ९४ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार सबैभन्दा बढी महाराष्ट्रमा तीन हजार चार सय ३८ जनाको ज्यान गएको छ । गुजरातमा एक हजार तीन सय ४७, दिल्लीमा नौ सय ८४ र उत्तर प्रदेशमा तीन सय २१ जनाको कोरोनाबाट ज्यान गएको छ । भारतको सिक्किम राज्यमा सबैभन्दा कम १३ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ भने कसैको पनि ज्यान गएको छैन ।