कोरोनाबाट मृतकका परिवारलाई ५० हजार सहयोग

नेपालगन्ज : नरैनापुर गाउँपालिकाले कोरोनाबाट मृत्यु भएका युवकको परिवारलाई ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
अध्यक्ष इस्तियाक अहमद शाह शुक्रबार मृतक युवकको वडा नंं. ५ नयाँ बस्तीस्थित घर पुगेर परिवारलाई किरिया खर्च स्वरुप रकम हस्तान्तरण गरेका हुन् । ‘अहिलेलाई क्रिया खर्च स्वरुप ५० हजार दिएका हौं । घर बनाउन गाउँपालिकाले ३ लाख रुपैयाँ दिन्छ’, अध्यक्ष शाहले अध्यक्षले पीडितको परिवारसँग भने, ‘बालबच्चाको लागि मैले पनि व्यक्तिगत ५० हजार रुपैयाँ दिन्छु ।’
अध्यक्ष शाहले खाद्यान्न, तेल, नुन, दाल, झुल लगायतको राहत सामग्री पनि मृतक युवकको परिवारलाई प्रदान गरेका थिए । गत जेठ ४ गते क्वारेन्टाइनमै बसेका बेला वडा नम्बर ५ नयाँ बस्तीका २५ बर्षीय युवकको मृत्यु भएको थियो । मृत्युपछि उनमा कोरोना पुष्टि भएको हो । भारतको मुम्बइबाट आएका उनी भगवानपुरको दीपेन्द्र प्राविको क्वारेन्टाइनमा बसेका थिए ।