एकैदिन ४४८ संक्रमित, १ को मृत्यु

नेपालगन्ज : नेपालमा शुक्रबार एकैदिन सबैभन्दा उच्च संख्या चार सय ४८ संक्रमित पुष्टि भएका छन् भने एक जनाको मृत्यु पनि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अपरान्ह आयोजना गरेको भिडियो पत्रकार सम्मेलनमा अर्घाखाँचीको मालारानी–४ को सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका ५७ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि गरे । स्वासप्रश्वासमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार गराएर फर्किने क्रममा उनको मृत्यु भएको हो। उनी १२ दिन अघि भारतको महाराष्ट्रबाट आएर क्वारेन्टाइनमा बसेका थिए। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमितको संख्या पाँच हजार ६२ पुगेको हो। कोरोना जित्नेको संख्या भने आठ सय ७७ पुगेको छ।