बढैयाताल गाउँपालिकाको कोरोना राहत योजना

कोरोना रोकथाममा खटिने जनशक्तिको मृत्यु भए २० लाख र स्थानीयलाई ५ लाख राहत

बर्दिया : बर्दियाको बढैयाताल गाउँपालिकाले कोरोना भाइरस रोकथामका लागि खटिने जनशक्ति र स्थानीयको कोरोना संक्रमणबाट मृत्यु भए मृतकको परिवारलाई राहत उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाले बुधबार जारी गरेको सूचना अनुसार कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि निरन्तर रुपमा अग्रपंतीमा खटीने जनशक्तीको निधन भएमा २० लाख रुपैया र गाउँपालिकाका बासीन्दाको निधन भएमा उनीहरुको परिवारलाई ५ लाख रुपैया राहत स्वरुप उपलब्ध गराउने जनाएको हो । यद्यपी यो निर्णय भने बोर्ड बैठकवाट भएको छैन । गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले कोरोना महामारीको समयमा खटिने जनप्रतिनिधि, विशेष जिम्मेवारी तोकिएका कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक तथा पालिकाबाट खटाईएका व्यक्तिहरुलाई कोरोनाका कारणले निधन भएमा उनीहरुको परिवारलाई राहत स्वरुप सो रकम उपलब्ध गराउने तयारी थालिएको बताए । ‘कोरोना रोकथाम तथा नियन्त्रणमा खटिने जनशक्तिलाई गाउँपालिकाले सोझै राहत नभई २० लाख बराबरको बीमा गर्ने योजना बनाएका छौं’ उनले भने ।

कोरोनाका कारण निधन भएमा बीमा कम्पनी मार्फत २० लाख उपलब्ध हुने व्यवस्था मिलाएको उनको भनाई छ । यस्तो महामारीको समयमा कामगर्ने कर्मचारीको मनोबल बढाउन प्रोत्साहन स्वरुप यो कार्यक्रम ल्याएकोे अध्यक्ष श्रेष्ठको भनाई छ । त्यस्तै कोरोनाका कारण स्थानीयवासीन्दाको मृत्यु भएमा मृतकका परिवारलाई ५ लाख रुपैया राहत स्वरुप गाउँपालिकाका तर्फबाट उपलब्ध गराउने गरी योजना बनाउन थालिएको उनले बताए । ‘सबै बासीन्दाको बीमा गराउन सम्भव नभएकाले राहत स्वरुप सो रकम उपलब्ध गराउने छौं’ उनले भने ।

कोरोनाको समयमा गाउँपालिका अन्तगर्त रहेर खटिने करिव ३ सय जना सम्म कर्मचारीहरुको बीमा गराउने योजना रहेको अध्यक्ष श्रेष्ठले बताए । यो बीमा वापत बार्षिक २५/३० लाख प्रिमियममा खर्च हने अनुमान गाउँपालिकाले गरेको छ । कोरोना महामारीको समयमा फिल्डमा खटिने जनशक्ती र स्थानीयलाई स्थानीय सरकारको तर्फबाट राहत उपलब्ध गराउनु राम्रो हुने बढैयाताल गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष कर्णबहादुर थापाले बताए । ‘अहिलेको परिस्थीती अनुसार अध्यक्ष ज्युले राम्रो सोच बनाउनु भएको हो, हामीलाई फोन गरेर जानकारी दिनुभएको छ’ उनले भने ‘तर विस्तृतरुपमा कार्यपालिकाको बैठक बसेर छलफल तथा निर्णय हुन बाँकी छ ।’