रुकुम घटनाकाविरुद्ध टीकापुरमा रक्तदान

मानबहादुर ठकुल्ला । टीकापुर
पश्चिम रुकुमको चौरजहारी घटनाविरुद्ध सरकारलाई ध्यानाकर्षण गर्न कैलालीमा रक्तदान कार्यक्रम गरिएको छ ।
नेपाल दलित अधिकार अभियान टीकापुर र कैलाली सुनचाँदी आभुषण व्यवसायी संघको संयुक्त आयोजनामा ‘जात जाति सबै समान, रक्तदान जीवनदान’ भन्ने नारासहित टीकापुरमा जातीय विभेदकाविरुद्धको सन्देशमूलक रचनात्मक रक्तदान कार्यक्रम गरिएको हो । टीकापुर रेडक्रस भवनमा भएको रक्तदान कार्यक्रममा १२ जना दलित समुदायका व्यक्तिले रक्तदान गरेका थिए ।
रक्तदान गर्दै राष्ट्रिय दलित आयोगका पूर्वसदस्य दानबहादुर विक ‘चित्रण’ ले जातीय विभेदका कारण पश्चिम रुकुममा भएको घटनाको जति निन्दा गरे पनि कम हुने बताउँदै सो घटनालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम गरिएको बताए । दलितको रगत चल्ने सम्बन्ध किन नचल्ने भन्दै रुकुम घटनाका दोषीलाई कारबाही, पीडितलाई न्यायका लागि सरकारलाई दबावसहित खबरदारी गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको उनले बताए ।
नेपाल दलित अधिकार अभियानका अध्यक्ष धनबहादुर विकले रुकुम घटनाको सत्यतथ्य छानबिन गरी पिडकलाई हदैसम्मको कारवाही र पिडितलाई न्याय दिलाउन माग गरे । जातीय विभेदकै कारण देशमा छुवाछूत अन्त्य भएको एक दशकमै ३२ जना दलितको अमानवीय रुपमा हत्या भएको दलित अगुवाहरुले जानकारी दिएका थिए ।
पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोतीकी सुष्मा मल्ल र जाजरकोट जिल्ला भेरी नगरपालिका ४ रानागाउँका नवराज विकबीचको प्रेमलाई विवाहमा परिणत गर्ने क्रममा गत जेठ १० गते घटना घटेको थियो । घटनामा नवराजसहित उनका साथीहरु लोकेन्द्र सुनार, टीकाराम विक, गणेश बुढा, सन्दीप विक र गोविन्द शाहीको ज्यान गएको थियो । घटनाबारे प्रहरी र संसदीय समितिले छानबिन गरिरहेका छन् ।