कोरोनासँग जुध्न क्वारेन्टाइनमा योग

मानबहादुर ठकुल्ला । टीकापुर
लोकेन्द्र धामीको दैनिकी बिहान पाँच बजेबाट सुरु हुन्छ । सात बजेसम्म योग गर्छन् । खेलाडीले जस्तै योगपछि खाजामा चनाअण्डा हुन्छ । भारतको सुरतबाट आएका आएका टीकापुर नगरपालिका ७ सत्तीका धामीले पहिलो पटक योगको अनुभव गरे । १४ दिनसम्म योगाभ्यास अभ्यास गरे । भन्छन्, योगले शरीर तन्दुरुस्त हुनेरहेछ । साँच्चिकै रोगसँग लड्नमा सहयोग पुगेको अनुभव भएको छ ।
कोरोना भाइरससँग लड्नका लागि रोगप्रतिरोधात्मक क्षमता चाहिन्छ । नियमित योग ध्यान गर्नेहरुको रोगप्रतिरोधी क्षमता सामान्य व्यक्तिभन्दा धेरै हुन्छ । त्यसैले त टीकापुर ७ सत्तीको कर्णाली माध्यामिक विद्यालयमा हरेक दिन योग सिकाइयो । क्वारेन्टाइनमा बस्ने ८१ जनाले योगाध्यास गरे । धेरैले धामीले झैं पहिलो पटक योगको स्वाद चाखे । यस्तो अवसर जुराएको थियो, पतञ्जली योग नगर समिति टीकापुरले । समितिका महामन्त्री तथा योग प्रशिक्षक छविलाल जैशी र समितिका सन्चार संयोजक प्रेम भट्टराईले लगातार १४ दिन बिहान योग सिकाए ।
कोरोना भाइरसको त्रासबीच पनि टीकापुरदेखि सत्तीसम्म पुगेर हरेक दिन योग अभ्यास गराइदिएको भन्दै योग प्रशिक्षकहरु छबिलाल जैशी तथा प्रेम भट्टराई राष्ट्रप्रेमीलाई वडा कार्यालयको तर्फबाट प्रशंसा पत्रसमेत प्रदान गरिएको छ । २० जेठमा भारतबाट आएर १४ क्वारेन्टाइनमा बसेकाहरुले यस अवधिभर योगाध्यास गरे । शुक्रबार आरडीटी परीक्षण गरेर उनीहरुलाई घर पठाइएको टीकापुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष रामलाल डगौराले बताए । ४ जना क्वारेन्टाइनमा बसेका र २ जना क्वारेन्टाइनको ब्यवस्थापनमा खटिएका व्यक्तिको रिपोर्ट पोजेटिभ आएको छ । वडा अध्यक्ष डगौराले योगले रोग प्रतिरोधी क्षमताको विकास गर्ने भएकोले नियमित रुपमा योग अभ्यास गराएकोमा योग प्रशिक्षकहरुलाई धन्यवाद दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनिराम ढुंगानाको संयोजनमा सन्चालन भएको योग शिविरबाट आफूहरुमा हौसला बढेको तालिममा सहभागिहरुले प्रतिक्रिया दिएका छन् ।