नरैनापुरमा पूर्वाधार र शिक्षामा बजेट


नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिकाले पुर्वाधार विकास र शिक्षा क्षेत्रलाई जोड दिँदै आर्थिक बर्ष २०७७/०७८ को बजेट ल्याएको छ । गाउँपालिकाको चौथो गाउँसभामा आज (बुधबार) गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले गाउँपालिका अन्तगर्तका विभिन्न पुर्वाधार निर्माणका योजना र शिक्षा क्षेत्रको विकास लगायतका लागि कुल ५५ करोडको बजेट ल्याएको जानकारी दिए ।
पूर्वाधार विकासमा सशर्त बाहेक ४ करोड ८० लाख, विविध अनुदान अन्तर्गत् गौशाला निर्माणका लागि ७ करोड, गाउँपालिका भवन निर्माणमा ४ करोड, सशर्त बाहेक शिक्षामा २ करोड १८ लाख, स्वास्थ्यमा १ करोड ७४ लाख, कृषि तथा पशुमा १ करोड, विपत् व्यवस्थापनमा १ करोड र महिला सशक्तिकरण तथा समवेशीकरणमा ४० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
संघीय सरकारबाट प्राप्त ३९ करोड २० लाख ९७ हजार ३ सय ६०, प्रदेश ५ सरकारबाट ३ करोड ५३ लाख १ हजार र आन्तरिक राजश्वतर्फ अनुमानित ५४ लाख १५ हजारमा आधारित रही आर्थिक बर्ष २०७७÷७८ को बजेट ल्याइएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए । कोभिड–१९ नियन्त्रण, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, गरिबी न्यूनीकरण, कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको खरालको भनाइ थियो ।
गाउँपालिकालाई नेपाल सरकारबाट समानीकरण अनुदान ११ करोड २३ लाख, नेपाल सरकार राजश्व बाँडफाँड ९ करोड १३ लाख ९७ हजार ३ सय ६०, सशर्ततर्फ १७ करोड ६४ लाख र विशेष एवं समपूरक अनुदानतर्फ १ करोड २० लाख रुपैयाँ प्राप्त भएको छ । त्यस्तै प्रदेश ५ सरकारबाट समानीकरण अनुदान ५५ लाख ९ हजार, राजश्व बाँडफाँड ३९ लाख ४२ हजार, सशर्ततर्फ १ करोड ४८ लाख ५० हजार र विशेष एवं समपूरक अनुदानतर्फ २ करोड १० लाख रुपैयाँ प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *