आइते बुढाको २० वर्षपछि फर्किएको खुसी

बाँके बैजनाथ गाउँपालिका ४ का आइते बुढाको घर निर्माणदेखि हस्तान्तरणसम्म । फोटो सौजन्य : हेमन्तराज काफ्ले र नमस्कार शाह

नेपालगन्ज : ‘ऐलानी जग्गा । आधा टिन अनि आधा सिमेन्ट टायलको छानो भएको एककोठे सानो झुुपडी । परालका बिछ्यौना । पराल नै ओढ्ने । भान्सा र बाख्राको खोर एकै ठाउँमा’, हरित अभियन्ता हेमन्तराज काफ्ले पहिलो पटक ६० वर्षका आइते बुढालाई भेट्दाको दृश्यबारे सुशासनका क्षेत्रमा क्रियाशील संस्था बासका कार्यकारी निर्देशक नमस्कार शाह त्यो हृदय विदारक क्षण सम्झन्छन्, ‘सुन्दै पनि कहाली लाग्ने उनको अवस्थाले काफ्लेको मन छोयो । सुरुमा उनले ओढ्ने ओछ्याउनेको जोहो गरे । त्यत्तिले मात्र आइते बुढाको परिवारमा खुसी फर्किने उनलाई लागेन । अनि अठोट गरे, अब घर नै बनाउने । बासले संस्थागत रुपमा साथ दियो ।’

शाह भन्छन्, ‘घर बनाउन हामीले काफ्लेकै संयोजकत्वमा समिति गठन गरी सहयोग संकलन शुरु ग-यौं ।’ पुसदेखि सुरु भएको अभियानले सार्थकता पाउन असार लाग्यो । एक लाख ५३ हजार चार सय ८८ रुपैयाँ संकलन भयो । घर बनाउने अभियानमा संयोजक काफ्ले र निर्माण समिति संयोजक लोकेन्द्र सुनार अहोरात्र खटे । टिनको छानो र ब्लकको भित्ता भएको २ कोठे घर र शौचालय तयार भयो ।
बुधबार प्रदेशसभा सदस्य तथा नेकपा बाँकेका अध्यक्ष आइपी खरेल घर हस्तान्तरण गर्न गाउँ पुगे । घरको चापी बुढालाई दिँदै सांसद खरेलले सोधे, ‘तपाईलाई अहिले कस्तोे महसुस भइरहेको छ ?’ आइते बुढाको मुहारमा खुसी छचल्किरहेको थियो । गाउँले र सहयोगी मनले घेरिएका उनले के बोल्ने भन्ने पत्तो नै पाएनन् । छिमेकीले सुझाएपछि मात्र ‘खुसीको महसुस भइरहेको’ प्रतिक्रिया दिए । घर बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै बुढाले भने, ‘आमाबावु नाइ (छैनन्) । भाइ पनि कोइ नाइ (कोही छैन) । दुःख छियो (थियो) । तपाईहरुले घर बनाइदिनु भयो । राम्रै भयो । ठीकै भयो । तपाईहरुलाई धन्यवाद छ हजुर ।’ सांसद खरेलले ईश्वरले हेर्ने भएपछि २० वर्षअघि नै दुःखबाट पार लगाइदिन ए आइते बुढा तँलाई के गरौं भन्थे भन्दै भगवान पनि मानवमै हुने भएकाले घर बनाइदिने र सहयोग गर्नेलाई भगवानको संज्ञा दिए ।
पहाडी जिल्ला जाजरकोटबाट २० वर्ष अघि उनी बसाइँसराइ गरेर बाँकेको हाल बैजनाथ गाउँपालिका ४ नौबस्ताको चिल्नेटा गाउँमा आएका थिए । सम्पत्तिको नाममा ऐलानी जग्गाको यही झुपडी मात्रै थियो । दैनिक ज्याला मजदुरी गरेको उनको जीविका चल्छ । उनका १० वर्षका एक छोरा रामबहादुर र छोरी सिर्जना १३ वर्षकी छन् । ४७ वर्षकी पत्नी सीता बोल्न सक्दिनन् । वयोवृद्ध अवस्थामा पनि परिवारको सम्पूर्ण खर्च धान्ने जिम्मेवारी उनकै काँधमा छ । आइते बुढाको घर बनाउने अभियान चलेपछि अहिले उनलाई सानो तिनो सहयोग गर्नेहरु आउन थालेका छन् । एउटा सहकारीले दुई वटा बाख्रा दिएको छ । बाख्रा पालेर पनि बुढाको परिवारलाई अब जिविका चलाउन सहज हुने देखिन्छ ।