सशस्त्रद्वारा गोरेटो बाटो र नहर मर्मत

गोरेटो बाटो मर्मत गर्दै सशस्त्र प्रहरी बल र स्थानीय वासिन्दा । फोटो सौजन्य : सशस्त्र प्रहरी बल

नेपालगन्ज : सशस्त्र प्रहरी बलले दार्चुलामा पहिरोका कारण लामो समयदेखि अवरुद्ध गोरेटो बाटो र नहर मर्मत गरेर सघाएको छ ।
व्यास गाउँपालिकाको छाङ्रुस्थित बोर्डर आउट पोस्ट (बीओपी)ले छाङ्रुदेखि तिङ्कर भन्ज्याङ जाने करिब ११ किलोमिटर गोरेटो बाटो मर्मत गरेको हो । सशस्त्रको टोलीले स्थानीयसँगको सहकार्यमा सुक्खा तथा हिउँ पहिरो हटाएर गोरेटो बाटो सुचारु गराएको सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्दले बताए । सुख्खा पहिरोका कारण लामो समयदेखि सो बाटो बन्द थियो । बाटो मर्मतपछि सदरमुकाम बसाइसराइ गरेका तिङ्करका बासिन्दा गाउँ फर्कन, चौपाया तथा खाध्यान्न लैजानसमेत सहज भएकाले खुसी भएका छन् । यस्तै, छाङ्रु जलविद्युत आयोजनाको नहरसमेत सशस्त्र प्रहरीले मर्मत गरेको छ । हिउँ पहिरोका कारण ठाउँठाउँमा भत्किएको सो नहरको हिउँ पन्छाएर जलविद्युत सेवा सुचारु गर्न सशस्त्र प्रहरीले सहयोग गरेको हो ।