नेपालगन्जमा आमाछोरीलाई कोरोना !

नेपालगन्ज : बाँकेमा आमाछोरीलाई कोरोना संक्रमण भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार जिल्लामा ५ दिनपछि बुधबार नेपालगन्जमा थप २ जनामा कोरोना पुष्टि भएको थियो । नेपालगन्ज उपमहानगरपालिका–१४ का २८ र ४५ वर्षका दुई महिलामा कोरोना पुष्टि भएको हो ।
नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा उपप्रमुख जागेश्वर बस्नेतका अनुसार संक्रमित नातामा आमाछोरी हुन् । बस्नेतले भने, ‘उनीहरुले आफू भारतको नानपाराबाट आएको बताएका छन् । उनीहरुसँगै एकै परिवारका ७ वर्षकी बालिका र १७/१८ वर्षका पुरुष थिए । अरु दुई जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएकाले घर गएका छन् ।’ नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा २५ जनाको स्वाब संकलन गरी भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा कोरोना परीक्षण गर्दा दुई जनाको रिपोर्ट पोजेटिभ आएको बस्नेतले बताए ।
२० असारमा बाँकेमा पाँच जनामा कोरोना पुष्टि भएको थियो । त्यसयता ३०१ जनाको पीसीआर प्रविधिमा कोरोना परीक्षण गर्दा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । २० असारमा २२ जना, २१ गते ३० जना, २२ गते २०४ जना (महिला पत्रकार र स्वास्थ्यकर्मीसमेत) र २३ गते ४५ जनाको कोरोना परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा गरिएका चिकित्सकलगायतका स्वास्थ्यकर्मी र महिला पत्रकार सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।