नेपालगन्ज स्वीमिङ क्लब स्थापनाको ३ वर्षमै अन्तर्राष्ट्रिय पौडी प्रतियोगिता गर्दै

नेपालगन्ज : स्थापनाको तेस्रो वर्षमा नै नेपालगन्ज स्वीमिङ क्लबले अन्तर्राष्ट्रिय पौडी प्रतियोगिता गर्न लागेको छ । क्लबले यस अघि लुम्बिनी प्रदेश स्तरीय र राष्ट्रिय पौडी प्रतियोगिता सफलता साथ सम्पन्न गरिसकेको छ ।
क्लबले नेपाल पौडी संघको सहकार्यमा तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप यही कात्तिक १४ र १५ गते नेपालगन्जमा आयोजना गर्न लागेको क्लबका अध्यक्ष केशवराज न्यौपानेले सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा बताउनुुभयो ।

प्रतियोगितामा नेपालका साथै भारतका लखनउ, दिल्ली र पञ्जाबसहित नेपालका विभिन्न स्थानका करिब २०० जना खेलाडी सहभागी हुने उहाँले जानकारी दिनुभयो ।
अण्डर ८ देखि अण्डर १७ तथा ओपनमा फ्रिस्टाइल, ब्याकस्ट्रोक, बेस्ट स्ट्रोक, बटरफ्लाई, रिले तथा व्यक्तिगत मेड्ले गरी ६ विधामा ८० वटा इभेन्टमा ५० देखि २०० मिटरसम्म प्रतिस्पर्धा हुने प्राविधिक निर्देशक विष्णु खड्का क्षेत्रीले जानकारी दिनुभयो ।
जिल्ला बाहिर र भारतबाट आउने खेलाडीलाई नेपालगन्जका चारतारे स्तरका होटलमा निःशुल्क आवास तथा खानाको व्यवस्था गरिएको प्रतियोगिता निर्देशक सूर्यमणि  अधिकारीले प्रष्ट पार्नुभयो ।

क्लबले यस अघि १५ कार्तिक, २०८२ मा आयोजना गरेको नेशनल स्वीमिङ च्याम्पिनसीप ललितपुरको सगरमाथा स्वीमिङ क्लबले उपाधि जितेको थियो । त्यसअघि ५ कार्तिक २०८० मा क्लबले लुम्बिनी प्रदेश स्तरीय ‘प्रथम नेपालगन्ज पौडी प्रतियोगिता आयोजना गरेको थियो ।