मास्क नलगाउने बाँकेमा ११८ जनाबाट जनही १०० रुपैयाँ जरिवाना

मास्क नलगाएर हिँडिरहेकाहरुलाई चेकजाँच गर्दै प्रहरी । फोटो सौजन्य : जिल्ला प्रहरी कार्यालय, बाँके

नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले मास्क नलगाउने एक सय १८ जनालाई कारबाही गरेको छ ।
बाँके प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काका अनुसार आइतबार जिल्लाका विभिन्न स्थानबाट एक सय पुरुष र १८ महिला गरी एक सय १८ जनाबाट जनही एक सय रुपैयाँका दरले ११ हजार आठ सय रुपैयाँ जरिवाना गरेको हो । सङ्क्रामक रोग ऐन २०२० बमोजिम एक सय रुपैयाँ जरिवाना गरिएको हो । संकलन भएको राजस्व जिल्ला प्रशासन कार्यालय बाँकेमा बुझाइएको छ । जरिवाना रकम बुझाउन नसक्ने मानिसहरुलाई मास्क वितरण गरी सम्झाइबुझाइ छाडिएको हो । बाँके प्रहरी प्रशासनले सम्पूर्ण जिल्लावासीलाई विनम्रताका साथ अनिवार्य रुपमा घर बाहिर निस्कँदा मास्कको प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न अनुरोध गरेको छ ।