बर्दियामा निषेधाज्ञा अवज्ञा गर्ने ४० मोटरसाइकल चालक कारबाहीमा


सुदीप अधिकारी । बर्दिया :
बर्दियामा कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाको अवज्ञा गर्दै मोटरसाइकल चलाउनेहरूलाई प्रहरीले कारबाही गरेको छ ।
निषेधाज्ञाको समयमा राजमार्ग तथा बजार क्षेत्रमा निषेधाज्ञा उल्लंघन गर्ने ४० वटा मोटरसाइकल चालकलाई इलाका प्रहरी कार्यालय भुरिगाउँले कारवाही गरेको हो । इप्रकाका प्रहरी सहायक निरीक्षक कृष्ण केसीले मंगलबार बिहान भुरिगाउँ बजारस्थित पूर्व–पश्चिम राजमार्गमा गरिएको चेक जाँचमा निषेधाज्ञा उल्लंघन गर्ने ४० वटा मोटरसाइकल कारवाहीमा परेकोे बताए । निषेधाज्ञा पालना नगर्ने मोटरसाइकल चालक र मास्कको प्रयोग नगेरर बजारमा हिड्नेहरूलाई २ घण्टा सडकमा रोकेर अबदेखि निषेधाज्ञा पालना गर्ने शर्तमा छाडिएको प्रहरी सहायक निरीक्षक केसीको भनाइ छ । निषेधाज्ञा जारी भएको अवस्थामा पनि अटेर गरेर बिना काम घर बाहिर बजार निस्कने, मोटरसाइकल चलाउने, मास्क नलगाउँने, निषेधाज्ञा पालना नगर्ने परिपाटी बढ्न थालेपछि बाध्य भएर कारवाही गर्नु परेको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक वसन्त पाण्डेले जानकारी दिए । कारबाहीमा परेकालाई कोरोना संक्रमणको जोखिम, आमनागरिकले निर्वाह गर्नुपर्ने भूमिका र निषेधाज्ञा पालनाका सम्बन्धका बारेमा शिक्षा दिएर नियन्त्रणमा लिएको केही समयपछि छाडिएको प्रहरी निरीक्षक पाण्डेले बताए ।
समुदायस्तरमा कोरोना फैलिएको हुँदा यसको जोखिम नियन्त्रणका लागि प्रशासनले जारी गरेको निषेधाज्ञा पालना गर्दै घरमै सुरक्षित बस्न प्रहरीले आग्रह गरेको छ । बर्दियामा साउन २५ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *