बाँकेमा २ जनालाई प्लाज्मा थेरापी विधिबाट कोरोनाको उपचार

प्लाज्मा दान गर्दै नेपालगन्ज उपमहानगरका प्रवक्ता प्रमोद रिजाल र प्लाज्मा चढाइँदै गरेका सल्यानको शारदा नगरपालिका–६ का २९ वर्षका पुरुष । फोटो : भेरी अस्पतालको फेसबुक पेजबाट

नेपालगन्ज :  भेरी अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा २ जना जटिल स्वास्थ्य समस्या भएका कोरोना संक्रमितको उपचार भइरहेको छ ।
भेरी अस्पतालले गत मंगलबार सल्यानको शारदा नगरपालिका–६ का २९ वर्षका पुरुषलाई जिल्लामै पहिलो पटक प्लाज्मा थेरापीबाट उपचार गरेको हो । अस्पतालका प्लाज्मा थेरापी फोकल पर्सन फिजिसियन डा. खगेन्द्रजंग शाह भन्छन्, ‘शरीरमा अक्सिजनको मात्रा कमी भइ अधिकतम् मात्रामा अक्सिजन दिंदा पनि सुधार भएको थिएन । प्लाज्मा थेरापीबाट उपचार गर्दा उहाँको स्वास्थ्यमा सुधार आएको छ ।’ उनका लागि नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले प्लाज्मा दान गरेका थिए ।
त्यसैगरी शनिबार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बुटवलबाट रिफर भएर आएका ४२ वर्षका पुरुषलाई प्लाज्मा चढाइएको अस्पतालका प्लाज्मा थेरापी फोकल पर्सन डा. श्याम विकले बताए ।