भेरी अस्पतालका डा. राजन पाण्डे चितवनको भरतपुर अस्पताल प्रमुखमा नियुक्त

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट जनरल फिजिसियन डा. राजन पाण्डे चितवनको भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २४ भदौको निर्णय अनुसार बिहीबार उनलाई प्रमुखमा नियुक्त गरिएको मन्त्रालयका उप–सचिव प्रमोद सिंखडाद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ । पत्रमा उनलाई ‘अर्को व्यवस्था नभएसम्म आर्थिक र प्रशासनिक अधिकारसमेत प्रयोग गर्ने गरी’ कामकाजमा खटाइएको लेखिएको छ । चितवन नै घर भएका डा. पाण्डेले नेपालगन्जमा झण्डै एक दशक स्वास्थ्य सेवा प्रदान गरेका थिए । पश्चिम नेपालका थारु समुदायमा सिकलसेल एनिमिया रोगको पहिचान, प्रचारप्रसार र उपचारमा उनको योगदान रहेको छ ।