भेरी अस्पतालमा ७ आइसीयुसहित ७२ वेडको कोरोना विशेष अस्पताल शुभारम्भ

नेपालगन्ज :  भेरी अस्पताल नेपालगन्जमा ७ आइसीयुसहित ७२ वेडको ‘भेरी कोरोना विशेष अस्पताल’ सञ्चालनमा ल्याइएको छ । यस अघि अस्पतालमा ८ वटा आइसोलेसन बेड सञ्चालनमा थियो । प्रदेश सरकारको सहयोगमा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको कोरोना विशेष अस्पताल पनि भेरीले नै सञ्चालन गरेको थियो । सोही अस्पताललाई भेरीमा स्थानान्तरण गरिएको हो ।
प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले बिहीबार ‘भेरी कोरोना विशेष अस्पताल’ को उद्घाटन गरेका हुन् । मन्त्री बरालले संघीय सरकारको मातहतमा रहे पनि भेरीलाई प्रदेश सरकारबाट पनि सहयोग हुने प्रतिबद्धता जनाए ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य आइपी खरेल, समाजसेवी मधुसुधन शर्मा, भेरी अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठ, भेरी कोरोना विशेष अस्पताल सञ्चालन उपसमितिका संयोजक डा.श्यामसुन्दर यादवलगायतले भेरी अस्पतालको विकासका लागि संघीय र प्रदेश सरकारको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिएका थिए । भेरी कोरोना विशेष अस्पताल बनाउन नेपालगन्ज उद्योग वाणिज्य संघ, सांग्रीला विकास बैंक, नेपालगन्जमा स्वास्थ्य शिक्षा सञ्चालन गर्ने कलेजहरुले सहयोग गरेका छन् । अस्पताललाई आवश्यक पर्ने जनशक्ति भने प्रदेश सरकारले व्यवस्था गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *