बागेश्वरी मन्दिरमा फूलपाती भित्र्याइयो (फोटो फिचर)

खम्बप्रसाद पुन
नेपालगन्ज, ७ कार्तिक
बाँकेको नेपालगञ्जस्थित पश्चिम तराईको प्रमुख शक्तीपिठ मानिने बागेश्वरी मन्दिरमा कोरोना कहरकै बिच फुलपाती भित्र्याईएको छ । शुक्रबार बिहानै देखि घटस्थापनाको सातौै दिन सप्तमीको अवसर पारेर बागेश्वरी मन्दिरमा फुलपाती भित्र्याईएको हो । कोरोना संक्रमणका कारण लामो समयदेखि बागेश्वरी मन्दिरको मुलढोका बन्द भएपनि परम्परागत रुपमा मनाईदै आएको फुलपाती भने भित्र्याईएको हो । आज नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बागेश्वरी माताको मन्दिरमा फूलपाती चढाएर पुजापाठ गरेका थिए ।
यसअघिका बर्षहरुमा आजकै दिन जिल्लाका हिन्दु धर्मालम्वीहरुले पनि वागेश्वरी मन्दिरमा फुलपाती ल्याएर चढाउने चलन रहेको थियो । त्यस्तै मन्दिरमा विभिन्न जिल्लाका साथै भारतबाट पनि श्रद्धालु भक्तजनहरु आएर पूजापाठ गरी फूलपाती चढाउने गर्दथे । तर, यसबर्ष कोरोना भाइरस संक्रमणका कारण मन्दिर भित्र प्रवेशमा निषेध गरीएपछि वागेश्वरी मन्दिरको गेटमै फुलपाती चढाएर पुजापाठ गरेका छन् ।
यसबर्ष कोरोना महामारीका कारण देशभरका सबै शक्तिपिठहरुमा भिडभाड र पुजापाठ नगर्ने नेपाल सरकारको निर्देशन अनुसार बागेश्वरी मन्दिरमा पनि भित्र प्रवेशमा रोक लगाई बाहिरै पुजापाठ गर्ने ब्यबस्था गरिएको वागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीको भनाई छ ।
आम श्रद्धालु भक्तजनहरुका लागि मन्दिर भित्र प्रबेश नगरे पनि मन्दिरको परिक्रमा सम्म गर्न पाउने ब्यबस्था गर्न आफूले पहल थालेपनि वागेश्वरी मन्दिर गुठी ब्यबस्थापन समितिले हस्तक्षेप गरेर गर्न नदिएको भन्दै मुल महन्त योगीले दुखःव्यक्त गरेका छन ।