बाँकेमा असोजमा मात्रै कोरोनाबाट २१ को मृत्यु

नेपालगन्ज : बाँकेमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेमध्ये असोज महिनाका मात्र ७२ प्रतिशत रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार जिल्लामा कोरोनाबाट २९ जनाको मृत्यु भएकोमा असोजमा मात्र २१ जनाको मृत्यु भएको छ । जुन कूल मृत्युको ७२.४१ प्रतिशत हो । असोज महिनाको १३, १५, १७, २३ र ३० गते एकैदिन २/२ जनाको ज्यान गएको छ । असोजको १, ३, ५, ९, ११, १२, १४, १८, २४, २८ गते भने एक/एक जनाले कोरोनाबाट ज्यान गुमाए । कोरोनाबाट सबैभन्दा बढी नेपालगन्जमा १३ जनाको ज्यान असोजमा गएको छ । कोहलपुरमा ६, खजुरा र जानकीमा एक एक जनाको कोरोनाबाट मृत्यु भयो । बाँकेमा जेठ ४ गते नरैनापुर गाउँपालिका–५ का २५ वर्षका युवाको जिल्लामै पहिलो पटक कोरोनाबाट ज्यान गएको थियो । उनी कोरोनाबाट नेपालमै मृत्यु हुने दोस्रो व्यक्ति थिए । भदौ महिनामा ५ जना, असार र साउनमा एक–एक जनाको ज्यान गएको थियो ।