बाँकेमा १ सय ७७ जना होम आइसोलेसनमा

नेपालगन्ज: बाँकेमा कोरोना संक्रमितको संख्या दिनहु थपिँदै जाँदा होम आइसोलेसनमा बस्नेको संख्या पनि बढ्दै गएको छ । पछिल्लो समय सरकारले लक्षण नभएका संक्रमितलाई होम आइसोलेनमा बस्न सकिने नीति बनाएपछि होम आइसोलेसनमा बस्नेको संख्या बढेको हो । हाल बाँकेमा १ सय ७७ जना कोरोना भाइरस संक्रमित होम आइसोलेसनमा बसेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । जिल्लामा कुल ३ सय ९ जना संक्रमित मध्य २ सय ९८ जना बाँकेका हुन भने ११ जना अन्य जिल्लाका हुन । संक्रमित मध्य १ सय ७७ जना सरकारले तोकेको नियम पालना गरी होम आईसोलेसनमा रहेका छन भने अन्य संक्रमित जिल्लाका विभिन्न अस्पताल र होटलमा रहेका आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
जिल्लामा सबैभन्दा धेरै नेपालगन्जमा ९५ जना घरमै आइसोलेसनमा बसेका छन । त्यस्तै कोहलपुरमा ५२, खजुरामा ८, बैजनाथमा ११, डुडुवामा २, जानकीमा ७ र राप्ती सोनारीमा २ जना होम आईसोलेसनमा रहेका छन ।
बाँकेमा कोरोनाका २२ जना सिकिस्त विरामीको उपचार भइरहेको छ । भेरी अस्पताल नेपालगञ्जमा १० जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा १२ जना सिकिस्त विरामीको उपचार भइरहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
जिल्लाका अस्पतालमा रहेका संक्रमित मध्य लक्षण सहितका विरामी ८६ जना रहेकोमा २३ जना सिकिस्त विरामी रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । जसमध्य भेरीमा १६ जना सिकिस्त, ३३ जना मध्यम र ३ जना सामान्य विरामी उपचारार्थ भर्ना छन् भने नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ७ सिकिस्त, ८ जना मध्यम र १९ जना सामान्य विरामीको उपचार भइरहेको छ ।