दाङका ७० वर्षीय कोरोना संक्रमित पुरुषको कोहलपुरमा मृत्यु

नेपालगन्ज : दाङका कोरोना संक्रमित एक पुरुषको शनिबार बिहान नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार घोराही उपमहानगरपालिका-४ का ७० वर्षीय पुरुषको बिहान ५ बजे मृत्यु भएको हो । असोज ११ गते स्वास्थ्यमा समस्या आएर आइसीयूमा भर्ना गरी उपचार शुरु भएको उनको १२ गते कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो । कोभिड युनिटमा स्थानान्तरण गरि उपचार सुरु गरिएको थियो । यो सँगै बाँकेमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ४८ पुगेको छ । जसमध्य बाँकेका ३० जना र अन्य जिल्लाबाट उपचारका लागि आएर बाँकेका अस्पतालमा मृत्यु भएका १८ जना रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।