‘बाबुु’ नै बलात्कारी, ७ बाबुुविरुद्ध बाँकेमा मुद्दा

बाँकेको खजुरा गाउँपालिकामा छोरी बलात्कारको अभियोगमा ३ जनासहित जिल्ला अदालतमा ७ जना बाबुविरुद्ध मुद्दा

शंकरप्रसाद खनाल । नेपालगन्ज
१२ असार २०७६ मा खजुरा गाउँपालिका–६ की १५ वर्षीया किशोरी आफ्नै ४२ वर्षीय बाबुबाट बलात्कृत भइन् । जड्याहा पतिबाट सधैं कुटाइ खाने आमा माइत गएको मौकामा बाबुले बलात्कार गरेको छोरीको अभियोग छ । ‘हामी दिदीबहिनी सुतेको बेला बुवाले रातिको ११ बजेतिर बलात्कार गर्नुभयो’, पीडित बालिकाले बयानमा भनेकी छिन् । छोरी बलात्कार गरेको अभियोग लागेका बाबु अहिले पुर्पक्षका लागि बाँके कारागारमा थुनामा छन् । उनको मुद्दा जिल्ला अदालत बाँकेमा विचाराधिन रहेको जिल्ला न्यायाधीवक्ता यमबहादुर बानियाँले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज वसन्त आचार्यका अनुसार खजुरा गाउँपालिकामा गत वर्ष मा त्र ३ जना बावुविरुद्ध छोरी बलात्कारको अभियोगमा मुद्दा दायर गरिएको छ । खजुरा–२ मा ६ वर्षीया र खजुरा–४ मा ८ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएका छन् । उनीहरुको मुद्दा पनि जिल्ला अदालतमै विचाराधीन छ ।
बर्दियाको गेरुवा गाउँपालिका–६ का ४४ वर्षका एक बाबु १८ वर्षकी छोरीलाई नेपालगन्जको न्यूरोडस्थित एक होटलमा २४ मंसिर २०७६ मा बलात्कार गरेको अभियोगमा पक्राउ परे । यसअघि भारतको बेंङ्लोरमा पनि बलात्कार गरेको छोरीको अभियोग छ । ‘भारतमा बलात्कार गरेपछि कसैलाई भनिस् भने रेलको पट्टीमा फालेर मार्ने धम्की दिनुभयो’, छोरीले बयानमा भनेकी छन्, ‘नेपालगन्ज पुगेपछि होटलमा फेरि बलात्कार गर्नुभयो । आज घर नजाऔं । भोलि जाउँ भनेर फकाउन खोज्नुभयो ।’ उनी ८ वर्षकी हुँदा आमा अर्को बिवाह गरेर गएकी थिइन् । बाबुले कान्छी आमा भिञ्याएका छन् । मधुवन नगरपालिकामा रहेकी ठूली आमाको घरको पूजामा गएको बेला बाबुको कुकर्म जानकारी गराएपछि मात्र उनले प्रहरीमा जाहेरी दिएकी थिइन् । यो मुद्दा पनि अदालतमा विचाराधीन छ ।
त्यसो त, जिल्ला अदालत बाँकेले १८ कार्तिक २०७२ मा साबिक शम्शेरगन्ज गाविस (हाल राप्ती सोनारी गाउँपालिका) का एक जना बाबुलाई छोरी बलात्कार गरेको कसुरमा १८ वर्ष कैदको फैसला गरेको छ । तत्कालीन न्यायाधीश विष्णुप्रसाद कोइरालाले गरेको फैसलामा जबरजस्ती करणीमा ८ वर्ष कैद, हाड नाता करणीमा थप १० वर्ष कैद र ५० हजार रुपैयाँ क्षतिपूर्ति गराइएको थियो ।
राप्ती सोनारी गाउँपालिकामा छोरी बलात्कार गर्ने बाबुको मुद्दा जिल्ला, उच्चहुँदै अहिले सर्वोच्च अदालतमा विचाराधीन छ । त्यसैगरी, ३ साउन २०७३ मा साबिक नौबस्ता (हाल बैजनाथ गाउँपालिका) की एक छोरीले बाबुले आफूलाई राति तेल लगाइदिन भन्दै भान्सामा बलात्कार गरेको जिल्ला अदालतमा मुद्दा दायर गरिन् । ८ जेठ २०७५ मा जिल्ला अदालतले भने ती बाबुलाई सफाइ दिएको छ । छोरी बलात्कारको अभियोगमा बाबुले बन्दी जीवन बिताउनु परेको थियो ।
इलाका प्रहरी कार्यालय कोहलपुरमा गत वर्ष २४ वटा जबरजस्ती करणीका मुद्दा दायर भएकोमा २ वटा हाडनाता करणीकै थिए । १३ वर्षीया नातिनी बलात्कार गरेर कोहलपुरका ८० वर्षका (तरकारी बाजे) ४ असोजमा २ वर्ष जेल सजाय भुक्तान गरेर घर फर्किसकेका छन् । कोहलपुर–३ मैटहवामा आफ्नै सहोदर पाँच वर्षीया भतिजी बलात्कार गर्ने १९ वर्षका भारतीय नागरिक अहिले पनि कैदी जीवन बिताइरहेका छन् ।
जिल्ला अदालत बाँकेमा गत वर्ष एक सय ४२ वटा र यो वर्ष २१ गरी एक सय ६३ वटा जबरजस्ती करणीका मुद्दा दायर भएका थिए । अदालतका श्रेस्तेदार तीर्थराज भट्टका अनुसार जसमा ११ वटा त हाडनाता करणीकै रहेका छन् । जुन अदालतमा दायर भएका कूल मुद्दाको झन्डै ७ प्रतिशत महिला आफन्तबाटै बलात्कारको शिकार भएको देखिन्छ । अधिवक्ता वसन्त गौतम भन्छन्, ‘नातागोता, इष्टमित्र बिर्सेर बलात्कार हुँदा छोरी घरभित्रै असुरक्षित छन् । सामाजिक मूल्य मान्यता र नैतिकता हराउनु नै अहिले चुनौती बनेको छ ।’
मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसार जबरजस्ती करणी गर्दा कम्तीमा पाँच वर्षदेखि बढीमा सर्वस्वसहित जन्मकैद र क्षतिपूर्तिको व्यवस्था रहेको अधिवक्ता गौतम बताउँछन् । पत्नीलाई पनि जबरजस्ती करणी गरेमा पाँच वर्षसम्म कैद हुने कानुन देशमा छ । २० वर्षभन्दा कम उमेर र हाडनाता करणी भएमा सजाय, जरिवाना र क्षतिपूर्ति थपिँदै जान्छ । स्रोत : अन्नपूर्ण पोस्ट् दैनिक