एक महिनामै बाघको आक्रमणबाट ४ को मृत्यु

शक्ति परियार । राजापुर
बर्दियामा बाघको आक्रमणबाट एक महिनाको अवधिमा मात्र ४ जनाले ज्यान गुमाएका छन् ।
गेरुवा गाँउपालीका ४ राजीपुरका लाहनु थारुको शनिबार ज्यान गएको हो । गोरु चराउन गएका थारु सहित गोरुलाइ मारेको स्थानीय राज चौधरीले जानकारी दिए । गोरु चराएर घर नफर्केपछि खोजी गर्दा चौधरीको टाउको क्षति बिक्षत अवस्थामा फेला पारेको भएको इलाका प्रहरी कार्यालय पाताभारका प्रमुख इन्सपेक्टर नवराज केसीले बताए ।
यसअघि केही दिन अघि मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । घटनामा मधुवन– ३ बस्ने २७ वर्षीय दिनेश थारु र २६ वर्षीय रमेश चौधरीको मृत्यु भएको हो । धनौराको बेलझुण्डी सामुदायिक वनमा थारु बाख्रा चराउन गएको र उनी घर नफर्किएपछि खोज्दै जाँदा चौधरीलाई समेत बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । यसको एक साताअघि मात्रै सोही ठाउँमा घाँस काट्ने क्रममा बाघले आक्रमण गर्दा मधुवन–३ भगरैया बस्ने २८ वर्षीय गंगा बुढाको पनि ज्यान गएको थियो ।