पावर टिलर पाउँदा किसान खुसी

खजुरा: खजुरा गाउँपालिका-३, धौलागिरीका कृषक नयन बहादुर बुढाथोकीले गाउँपालिकाको कृषि शाखाबाट ५० प्रतिशत अनुदानमा पावर टिलर पाउँदा खुसी भएका छन । व्यवसायीक रुपमा तरकारी खेती गर्न थालेका उनले आधुनिक तरिकाले तरकारी खेती गर्न यो मिनिटिलर उपयोगि हुने बताए ।  ‘थोरै जग्गामा पनि सहजै खनजोत गर्न सकिन्छ भन्ने सुनेको छु’ उनले भने ‘अव मेरो उत्पादन बढ्ने अपेक्षा छ ।’ गाउँपालिकाको कृषि शाखाले ५० प्रतिशत अनुदानमा पावर टिलर वितरण गरेको हो । आईतबार बुढाथोकी जस्तै गाउँपालिकाका ८ वटै वडाका कृषि समूहमा आवद्व भएका र नभएका १ सय ४ जना कृषकलाई मिनी पावर टिलर वितरण गरिएको हो ।

गाउँपालिकाको केन्द्र बि गाउँमा आयोजित मिनिपावर टिलर वितरण कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपति, उपप्रमुख एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, कृषि शाखा प्रमुख पुनम पोखरेलले किसानलाइ संयुक्तरुपमा पावर टिलर वितरण गरेका हुन । सो अवसरमा बोल्दै पालिका प्रमुख कक्षपतिले कृषिको आधुनिकीकरण, व्यवसायिककरण र यान्त्रिकिकरणमार्फत खजुरालाइ आत्मनिर्भर गराउने बताए । उनले विदेशबाट फर्किएका युवाहरूलाई विना धितो सहुलियत ऋण उपलब्ध गराउन बैंक संग सहकार्य भैरहेको जानकारी दिए । कार्यक्रममा उपप्रमुख एकमाया विकले प्राप्त गरेका कृषि उपकरणको सही सदुपयोग गरि कृषिमा आत्मनिर्भर हुन आग्रह गरिन । प्रमुख प्रशासकीय अधिकृत  मणिराम खरालले पालिकाले कृषिलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम अघि सारेको बताए । कृषि शाखा प्रमुख पुनम पोखरेलले कृषकको ५० प्रतिशत २६ हजार २५० र बाँकी पालिकाको लगानीमा अपनत्व हुने गरि कृषियन्त्र वितरण गरिएको बताइन ।