नेपालगन्जका किशोरीलाई सञ्चार सीप तालिम

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाका किशोरीहरुलाई २ दिने सञ्चार सीप तालिम दिइएको छ ।
प्लान इन्टरनेशनल नेपाल प्रादेशिक कार्यालय सुर्खेतको सहयोगमा सामाजिक सचेतन सरोकार मञ्च (स्याक) नेपाल बाँकेको बाल विवाह रोकथाम परियोजना अन्तर्गत नेपालगन्जमा गठित किशोरी क्लबका पदाधिकारी र सदस्यहरुलाई तालिम दिएको हो । तालिममा किशोरीहरुलाई सञ्चार, सञ्चारका तत्व, सञ्चार प्रक्रिया, सञ्चार तह, सञ्चार अवरोध र आमसञ्चारका विषयमा जानकारी गराइएको थियो । समाजमा हुने गलत सूचना प्रवाहका विषयमा सहभागीबीच सूचना अभ्यास खेल खेलाइएको थियो । त्यसैगरी सूचना, किशोरीले सार्वजनिक गर्नुपर्ने सूचना, किशोरी क्लबको सार्वजनिक सञ्चार, सञ्चार गर्ने विधि, सरोकारवाला, सरोकारवालासँग सञ्चार विधि, बाल विवाह रोकथाम गर्न र जोखिममा परेका बालबालिकालाई सहयोग गर्न किशोरीले सोझै सम्पर्क गर्ने नम्बरहरुका विषयमा तालिममा जानकारी गराएको थियो ।
त्यस्तै विज्ञप्ती लेखनको सैद्धान्तिक कुरा र यसको महत्वलाई तालिममा समेटिएको थियो । अन्नपूर्ण पोस्ट् दैनिकका उपसम्पादक शंकरप्रसाद खनाल र नेपाल टेलिभिजनका संवाददाता रुद्र सुवेदीले तालिममा सहजीकरण गरेका थिए । तालिममा नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. २१ लगायत विभिन्न वडामा गठित किशोरी क्लबका पदाधिकारी र सदस्य गरी २४ जनाको सहभागिता रहेको थियो । उनीहरुलाई १२/१२ जनाको २ समूहमा विभाजन गरेर छुट्टा छुट्टै तालिम दिइएको स्याकका फिल्ड सुपरभाइजर अकलिम खानले बताए ।