८ महिलासहित ३१ जनाले गरे रक्तदान

नेपालगन्ज : जनमत अद्र्धसाप्ताहिक नेपालगन्जको ४७औं त्रैमासिक रक्तदान श्रृङ्खलामा ३१ जनाले रक्तदान गरेका छन् । जनमतले आफ्नो रजत महोत्सव २०६३ साल वैशाख २९ गतेदेखि हरेक तीन महिनामा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।
जनमत पत्रिकाले नेपालगन्ज–१८ कारकाँदोस्थित श्री टिभिएस मोटर साइकल तथा ग्रेस एण्ड ग्लोबल ट्रेडिङ प्रा.लि. बाँकेसँगको सहकार्यमा बिहीबार बिहान आयोजना गरेको रक्तदान कार्यक्रममा २३ पुरुष र ८ महिलाले रक्तदान गरेको कार्यक्रम संयोजक पवन जायसवालले बताए । रक्तदातामा पत्रकार, व्यवसायी, शिक्षक, कर्मचारीलगायत छन् । कोरोेना भाइरसका कारण रगतको अभाव भइरहेको बेला भौतिक दूरी र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।
नेपालगन्जबाट झन्डै चार दशक (३९ वर्ष) देखि नियमित प्रकाशित भइरहेको जनमतले विगत १५ वर्षदेखि निरन्तर रुपमा आयोजना गरिंदै आएको त्रैमासिक रक्तदान कार्यक्रममा हालसम्म तीन हजार बढीको संख्यामा स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरिसकेको जनमत सम्पादक पूर्णलाल चुकेले जानकारी दिए ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य झलक गैरे, टिभिएसका क्षेत्रीय बजार प्रवन्धक प्रकाश श्रेष्ठ, ग्रेस एण्ड ग्लोबल ट्रेडिङ प्रा.लि.का अध्यक्ष विशाल श्रेष्ठ, निर्देशकद्वय रणबहादुर शाही महादेव सिंह ठकुरी, जनमत सम्पादक पूर्णलाल चुके र नेपाल रेडक्रस सोसाइटी बाँके मध्यपश्चिम क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले प्राविधिकलाई रगत संकलन गर्ने प्याकेट प्रदान गरी रक्तदानको शुभारम्भ गरेका थिए ।