बर्दियाको गेरुवामा अस्थायी कोरोना अस्पताल स्थापना

बर्दियाको गेरुवा गाउँपालिकामा अस्थायी कोभिड–१९ अस्पतालको उद्घाटन । फोटो : गोकर्ण गिरीको फेसबुकबाट

शक्ति परियार । राजापुर
बर्दियाको गेरुवा गाउँपालिकामा अस्थायी कोभिड–१९ अस्पताल निर्माण गरिएको छ ।

कोरोना भाइरसबाट सङ्क्रमितहरुको उपचार गर्नका लागि गाउँपालिकाले वडा नं. २ सिंघाईमा १० शैयाको कोभिड–१९ कोरोना अस्पताल निर्माण गरिएको हो । गाउँपालिका अध्यक्ष जमानसिंह केसी र बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बिहीबार संयुक्त रुपमा कोरोना अस्पतालको उद्घाटन गरेका हुन् ।
स्वास्थ्य मन्त्रालयले देशभर रहेका सबै स्थानीय तहहरुमा कोभिड–१९ कोरोना अस्पताल बनाउनका लागि बजेट विनियोजन गरेपछि गेरुवा गाउँपालिकाले अस्पतालको निर्माण गरेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण भण्डारीले जानकारी दिए।अस्पतालमा अक्सिजनसहितको औषधिकोसमेत व्यवस्था गरिएको छ । अस्पतालमा गाउँपालिकाले एक जना डाक्टर, दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी भर्ना गरेको छ ।सङ्घीय सरकारले अस्पताल नभएका बर्दियाका सात वटा स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निर्माणका लागि रु १० लाखका दरले बजेट पठाइसकेको छ । बर्दिया जिल्लाका आठ वटा स्थानीय तहमध्ये सात वटा स्थानीय तहमा पाँच शैयाका अस्थायी कोभिड अस्पताल निर्माणका लागि संघीय सरकारले बजेट पठाएको स्वास्थ्य कार्यालयका बर्दिया जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले जानकारी दिए । जिल्लाको गुलरिया नगरपालिकाबाहेक सबै स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निर्माण हुने स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । यसअघि ठाकुरबावा नगरपालिकामा अस्थायी कोभिड अस्पताल सञ्चालनमा आइसकेको छ।
अस्थायी कोभिड अस्पातल सञ्चालनका लागि आएको रु १० लाख बजेटमध्ये स्थानीय तहले पाँच लाखलगायतका सामग्री खरिदमा खर्च गर्नुपर्नेछ भने रु ५० हजार बराबरको औषधि खरिद गर्नुपर्नेछ । यस्तै, चार लाख ५० हजार जनशक्ति परिचालनमा खर्च गर्नुपर्नेछ । यी अस्पताल तीन महिनाका लागि सञ्चालन गर्नुपर्ने भएकाले स्थानीय तहमै भएका स्वास्थ्य संस्थामा यी अस्पताल सञ्चालन गर्नुपर्ने बताइएको छ ।