क्यान्सर अस्पतालमा ३ जनाको निःशुल्क शल्यक्रिया

क्यान्सर अस्पतालमा शल्यक्रिया सेवा शुभारम्भ गर्दै सांसद नन्दलाल रोकाय । फोटो सौजन्य : दुर्गा रोकाय

नेपालगन्ज : बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले शल्यक्रिया सेवा शुभारम्भ गरेको अवसरमा निःशुल्क शल्यक्रिया गरेको छ ।
अस्पतालमा सेवा शुभारम्भ गरेको अवसरमा शुक्रबार ३ जना बिरामीको निःशुल्क शल्यक्रिया गरेको हो । अस्पतालका निर्देशक डा. कृष्णप्रसाद आचार्यका अनुसार एक जनाको स्तन ट्युमर, अर्कोको रक्तनलीको ट्यूमर र तेस्रो व्यक्तिको बोसो र पानी जमेको बिरामीको शल्यक्रिया गरिएको थियो । शुक्रबार शल्यक्रियाका लागि नाम टिपाएका थप १० जनाको पनि निःशुल्क शल्यक्रिया गर्ने डा.आचार्यले प्रष्ट पारे ।
अस्पताल परिसरमा आयोजित समारोहमा संघीय सांसद नन्दलाल रोकायले शल्यक्रिया सेवाको शुभारम्भ गरेका थिए । अस्पताल विकास समितिका अध्यक्ष भक्तबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खजुरा गाउँपालिका अध्यक्ष तथा प्रखर परोपकार मिसनका अध्यक्ष किस्मतकुमार कक्षपति, जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तव, बाँसगढी नगरपालिका प्रमुख शालिकराम अधिकारी, बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ, भेरी अस्पतालका मेसु डाक्टरबहादुर प्रकाश थापाले अस्पतालको सफलताको कामना व्यक्त गरेका थिए ।