नेपालगन्ज म्याराथन : एपीएफका गोपी बने ओलेम्पिक खेल्न पाउने भाग्यमानी खेलाडी

धावक गोपीचन्द्र पार्की

नेपालगन्ज : एपीएफका धावक गोपीचन्द्र पार्की ओलम्पिकका लागि छनोट भएका छन् ।
ओलम्पिक छनोटको रुपमा रहेको छैटौं नेपालगन्ज म्याराथनको शनिबार सम्पन्न प्रतियोगितामा च्याम्पियन बन्दै पार्की अर्काे वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिकका लागि छनोट भएका हुन् ।
म्याराथनमा च्याम्पियन बनेका पार्कीले निर्धारित ४२ दशमलव १९५ किलोमिटर दुरी २ घन्टा १८ मिनेट ५९ सेकेन्डमा पुरा गरेका थिए । प्रतियोगितामा उनले नगद ७५ हजार रुपैयाँ पनि हात पारे । त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतले २ घन्टा २० मिनेट ४९ सेकेन्डमा दूरी पूरा गरी दोस्रो र आर्मीकै खगेन्द्र भाटले २ घन्टा २७ मिनेट २८ सेकेन्डमा पुरा गर्दै तेस्रो स्थान हासिल गरे । दोस्रो र तेस्रोले क्रमशः ३० हजार र २० हजार रुपैयाँ प्राप्त गरे ।
नेपालगन्ज म्याराथनका गतवर्षको विजेता आर्मीकै नवराज साउदले भने चौथोमा चित्त बुझाए । त्यसैगरी, एपीएफकी पुष्पा भण्डारीले महिला हाफ म्याराथनको उपाधि जितेकी छन् । १ घण्टा २६ मिनेट ५४ सेकेन्डमा निर्धारित दुरी पूरा गरेकी हुन् । उपाधिसँगै उनले नगद ३० हजार रुपैयाँ प्राप्त गरिन् । कर्णाली प्रदेशको जुम्लाकी मन्जु रावत १ घण्टा ३० मिनेट ७ सेकेन्डमा दुरी पूरा गर्दै दोस्रो भइन् । दाङकी शर्मिला घर्तीले १ घण्टा ३८ मिनेट १४ सेकेन्डमा दुरी पुरा गरेर तेस्रो स्थान हासिल गरिन् । दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पाए ।

नेपालगन्ज म्याराथनको च्याम्पियन बनेका एपीएफका धावकद्वय गोपीचन्द्र पार्की र पुष्पा भण्डारी