बाँकेमा कृषि उपज बजार प्रर्वद्धन सम्बन्धी छलफल

नेपालगन्ज : बाँकेमा कृषकहरुले उत्पादन गरेका वस्तुहरुलाई सहजरुपमा बजार प्रर्वद्धन गर्ने विषयमा छलफल गरिएको छ । कृषि ज्ञान केन्द्र बाँकेले कृषि उपज बजार सरोकारवालाहरुसँग अन्तरक्रिया गोष्ठी कार्यक्रम सम्पन्न गरेको हो ।
गोष्ठिमा कृषि व्यवसाय प्रर्वद्धन सहयोग तथा तालिम केन्द्र खजुराका निमित्त प्रमुख अमरराज शर्मा घिमिरेले कृषि सम्बन्धी बजारको व्यवस्थापन, बजार पूर्वाधारलगायत विषयमा प्रस्तुतीकरण गरेका थिए । त्यस्तै कृषि ज्ञान केन्द्रका अर्थविज्ञ जीवनकुमार केसीले फलफूल तथा तरकारी बालीहरुको उत्पादन उप्रान्त हुने ग्रेडिङ तथा प्याकेजिङ लगायत कृषि बजारका विभिन्न पक्षमा छलफल गरेका थिए । कार्यक्रममा कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले कृषि बजार उपज सम्बन्धी कार्यविधिका विषयमा नीतिगत तहमा भएका प्रयासहरुका बारेमा जानकारी दिएका थिए ।
ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालको सभापतित्वमा सम्पन्न गोष्ठीमा कृषि व्यवसाय प्रर्वद्धन सहयोग तथा तालिम केन्द्र खजुराका निमित्त प्रमुख अमरराज शर्मा घिमिरे रहेका थिए । जिल्लास्थित विभिन्न क्षेत्रका सरोकारवालाहरुको उपस्थित रहेको गोष्ठीको सन्चालन कृषि ज्ञान केन्द्र बाँकेका अधिकृत दिनेश प्रसाद भट्टराईले गरेका थिए ।