नेपालगन्ज विमानस्थलको गुरुयोजना स्वीकृत

नेपालगन्ज : नेपालगन्ज विमानस्थलको गुरुयोजना स्वीकृत भएको छ । भविष्यमा अन्तराष्ट्रिय विमानस्थलको रुपमा समेत स्तरबृद्धि गर्न सकिने गरी परिमार्जन गरेर गुरुयोजना स्वीकृत भएको हो । नेपालगन्ज विमानस्थललाई स्तरोन्नतीका लागि गुरुयोजना परिमार्जन गरी स्वीकृत गरेको बताउँदै गुरुयोजना अनुसार विमानस्थलमा चार अर्ब रुपैया खर्च गर्न लागेको संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले जानकारी दिए । नेपालगन्ज विमानस्थलमा विस्तार भएको पार्किङस्थलको उद्दघाटन गर्दै मन्त्री भट्टराईले भविष्यमा अन्तराष्ट्रिय विमानस्थलको रुपमा समेत स्तरबृद्धि गर्न सकिने हैसीयतमा नेपालगन्ज विमानस्थलको मास्टरप्लान समेटेर नेपाल सरकारले अघि बढाएको जानकारी दिए ।
मंगलवार उद्घाटन गरिएको पार्किङस्थलमा ८ वटा ठुला एटीआर जहाज र ४ वटा सानो जहाज राख्न मिल्ने गरी विस्तार गरिएको छ । यसअघि २ वटा ठुला एटीआर जहाज र ४ वटा सानो ट्युनेटर विमान मात्र अटने क्षमताको पार्किङस्थल रहेको थियो । काठमाण्डौ पछिको व्यस्त विमानस्थल भएपनि पर्याप्त पार्किङ वेको अभावमा नेपालगन्ज विमानस्थलमा निकै समस्या भएको भन्दै संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको २८ करोड ५३ लाख रुपैयाको लागतमा पार्किङस्थल निर्माण भएको हो ।