बर्दियामा कोरोनाबाट मृत्यु हुनेमा ७८ प्रतिशत पुरुष

नेपालगन्ज : कोरोना संक्रमणबाट बर्दिया जिल्लामा मृत्यु भएकामध्ये ७८ प्रतिशत पुरुष रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार जिल्लामा कोरोनाबाट मृत्यु भएका १८ जनामध्ये १४ जना पुरुष र ४ जना महिला छन् । जुन कूल मृतकमध्ये पुरुषको ७७.७७ प्रतिशत र महिलाको मृत्यु २२.२२ प्रतिशत हो ।
जिल्लामा बुधबारसम्म जिल्लामा कूल संक्रमित एक हजार चार सय ३७ रहेकोमध्ये एक हजार तीन सय ३५ जना संक्रमित निको भएर घर फर्किसकेका छन् । आइसोलेसनमा जम्मा ८५ जना छन् । बर्दियामा कोरोना निको हुने दर ९२.९० प्रतिशत, मृत्युदर १.१८ प्रतिशत र संक्रमण शून्य दशमलव ३० प्रतिशत रहेको छ ।
बिहीबार मात्र गुलरिया नगरपालिका वडा नं. ८ लक्ष्मणटोलकी ५८ वर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका मध्यान्न १२ः५० मा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई पुस ६ गते अस्पतालमा भर्ना गरिएको थियो । ७ पुषमा स्वाब संकलन गरिएको महिलाको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो ।