अवैध काठसहित ट्याक्टर र २ वटा मोटरसाइकल बरामद

मानबहादुर ठकुल्ला । भजनी
प्रहरीले कैलालीको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाबाट अवैध काठसहित ट्याक्टर र २ वटा मोटरसाइकल बरामद गरेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायल, इलाका प्रहरी कार्यालय भजनी र जोशीपुरबाट खटिएको प्रहरी टोलीले आइतबार जोशीपुर–७ भगतपुरबाट काठ बरामद गरेको छ । से १ त ८७२ नम्बरको ट्याक्टरबाट १६।२७ क्यूफिट भएको ४ थान सालका काठ बरामद गरिएको इलाका प्रहरी कार्यालय भजनीका प्रमुख प्रहरी निरीक्षक नरबहादुर साउँदले बताए ।
यस्तै, आइतबार नै इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको टोलीले जोशीपुर गाउँपालिका–३ बाट से २ प ५४२८ र से १ प ८७५९ नम्बरका मोटरसाइकलमा लोड गरिएको अवस्थामा काठ बरामद गरेको छ । उक्त स्थानबाट ५ फिट लम्बाई ५।५ फिट गोलाई र ५ फिट लम्बाई ३।४ फिट गोलाई भएका २ थान सालका काठ बरामद भएको हो। बरामद भएका काठ आवश्यक कारवाहीका लागि सव डिभिजन वन कार्यालय भजनीमा बुझाएको प्रहरीले जनाएको छ । त्यसैगरी सोमबार राति अवैध काठसहित कैलालीको जोशीपुरबाट ५ जनालाई पक्राउ गरिएको छ।
जोशीपुर गाउँपालिका–१ राजीपुरस्थित शंकर सामुदायिक वन नजिकैको सडकबाट अवैध काठ बोकेको २ वटा ट्याक्टरसहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । पक्राउ पर्नेमा भजनी नगरपालिका–२ का ३२ वर्षीय कृष्णलाल डगौरा, ३० वर्षीय वीरबहादुर डगौरा, २१ वर्षीय नवीन चौधरी, ३० वर्षीय बुधराम चौधरी र वडा नम्बर ६ का १९ वर्षीय महेश चौधरी छन् । से १ त ४९६२ र अर्को नम्बर नखुलेको ट्याक्टरबाट सिमलको काठ बरामद भएको छ। उनीहरूलाई सव डिभिजन वन कार्यालय भजनीमा बुझाइएको प्रहरीले जनाएको छ ।