ओलीको पार्टी माछा बजार हो : माधवकुमार नेपाल

नेकपा बाँकेले नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै माधवकुमार नेपाल

नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड नेपाल समूह) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीलाई जात्रा र माछा बजारको संज्ञा दिएका छन् ।
नेकपा बाँकेले आइतबार नेपालगन्जमा आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले माछा बजारमा जस्तै सजिलै रुपमा केन्द्रीय सदस्य पद बाँडिने भन्दै यस्तो संज्ञा दिएका हुन् । उनले केपी ओलीका कार्यकर्ता डम्मरु बजाउँदै नेपालगन्जमा पनि युवा, विद्यार्थी र मजदुर किसानलाई केन्द्रीय सदस्य बाँड्न आउन सक्ने भएकाले सतर्क रहन आग्रह गरेका थिए । उनले अर्को प्रसंगमा प्रधानमन्त्री ओलीलाई युद्ध हारेको दम्भ र अहंकार भएको महाभारतकालीन पात्र दुर्योधनसँग तुलना गरेका थिए । उनले भने, ‘कौरवका सारा ९९ भाइ मरिसकेका छन् । दुर्योधनको भने फुर्ती घटेकै छैन । यस्तै प्रवृत्ति बोकेका व्यक्ति हुन्, पात्र हुन् केपी ओली । ओलीको अब फुर्ती चल्नेवाला छैन ।’ कार्यक्रममा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगले आफूहरुलाई नै सूर्य चिन्ह र पार्टीको नामको आधिकारिकता दिनुको अब विकल्प नरहेको बताएका थिए ।
कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्यद्वय युवराज ज्ञवाली र वर्षमान पुन लगायतका नेताले संसद विघटनाका विरुद्धमा गाउँ तहबाटै कार्यकर्ता आन्दोलित हुन आव्हान गरेका थिए ।