विदेश छोडेर गाउँटोलमै व्यवसायिक तरकारी खेती

मुरली गोडिया । गुलरिया
बर्दियाको गुलरिया नगरपालिका-९ खालेपूर्वाका हरिशचन्द्र गोडियाले व्यवसायिक तरकारी खेती गर्न थालेको झन्डै एक दशक हुनलाग्यो । ‘घर परिवार छोडेर विदेसिनु भन्दा तरकारी खेती गरेर विदेश बराबरको आम्दानी गाँउमै गर्न सकिन्छ भनेर लागेको हुँ’, उनले अनुभव सुनाए ।
गोडिया मात्र होइन, गुलरियामा सीमा क्षेत्रका युवाहरु विदेश जान छोडेर तरकारी खेती प्रति आकर्षित भएका छन् । विदेश जानेमध्ये धेरै जनाले अनावश्यक सास्ती झेल्नु परेको, पैंसा कमाएर फर्केकाले पनि पारिवारीक सुख सन्तुष्टि र दीर्घकालिन स्वरोजगारको आधार भने पाउन नसकेको विश्लेषण गर्दै युवाहरु व्यवसायिक तरकारी खेतीबाट आत्मनिर्भर बनेका हुन् । कतिले विदेशमा सिकेको सीप सदुपयोग गर्न पनि तरकारी खेती रोजेका छन् । उनीहरुले बारीमा लौका, फर्सी, भान्टा, करेलालगायतका तरकारी फलाएका छन् ।

युवा शक्तिलाई गाँउ टोलमै रोक्न परम्परागत रुपमा तरकारी खेती गर्ने युवा किसानलाई व्यवसायिक कृषि सम्बन्धी तालिम दिनुपर्ने बताउँछन्, युवा उद्यमी पवनकुमार लोध । उनी भन्छन्, ‘विदेशबाट फर्किपछि धेरै युवाले गाँउमा केही गर्न पाए हुन्थ्यो भन्ने योेजना बनाएका छन् । उनीहरुलाई सहयोगको खाँचो छ ।’

तरकारी खेती, त्यस सम्बन्धी प्राविधिक ज्ञानका साथै प्रोत्साहनका लागि अनुदानका कार्यक्रम आवश्यक ठान्छन्, अर्का किसान संजयकुमार लोध । युवाको कृषि पेशाले स्थानीय स्तरमा रोजगारी सिर्जना पनि भएको छ । किसानहरु सरकारसँग तरकारी संंकलन केन्द्र स्थापना गर्न माग गरिरहेका छन् । विदेशबाट फर्केका युवाले लोभलाग्दो आम्दानी गरेर तरकारी खेती गर्न थालेपछि गाउँमै बसेका बेरोजगार युवालाई पनि आयआर्जनको काम गर्नुपर्छ भन्ने प्रेरणा मिलेको देखिन्छ ।