स्कुलबाट फर्कँदै गरेकी नेपालगन्जकी १५ वर्षीया छात्रालाई चक्कु देखाएर बलात्कार प्रयास

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाको एक सामुदायिक विद्यालयमा ९ कक्षामा पढ्ने १५ वर्षीया छात्रामाथि घर फर्कंदै गर्दा बलात्कार प्रयास भएको छ । बलात्कार गर्न नपाएपछि २१ वर्षका युवाले सांघातिक हमला गरेको पीडित परिवारले जनाएको छ ।
१६ माघमा दिउँसो भएको घटना तीन दिन अघि छात्राकी आमाले जिल्ला प्रहरी कार्यालय बाँकेमा किटानी जाहेरी दिएपछि मात्र घटना सार्वजनिक भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा फाँटका प्रहरी निरीक्षक ईश्वरदेव गिरीले पीडित छात्राकी आमाले जबरजस्ती करणी उद्योग र ज्यान मार्ने उद्योगमा किटानी जाहेरीसहित जाहेरी दिएको बताए । अभियुक्त फरार रहेकाले खोजी गरिरहेको प्रहरीले जनाएको छ । पीडित बालिकालाई भेरी अस्पतालमा उपचार गरेर अहिले एउटा गैरसरकारी संस्थाकोे सेल्टरमा राखिएको छ ।