३ वर्षमा बाँकेमा १० अर्बको ५६२ किलोमिटर सडक निर्माण (पालिका सूचीसहित)

बाँकेका ८ स्थानीय तहमा जनप्रतिनिधि आएपछि मात्रै निर्माण गरिएको सडक नेपालगन्जबाट संघीय राजधानी काठमाडौं (५२१.७) किलोमिटर) पुगेभन्दा पनि लामो बनेको छ

शंकरप्रसाद खनाल । नेपालगन्ज
बाँकेमा साढे ३ वर्षको अवधिमा ५ सय ६२ किलो मिटर सडक बनेको छ ।
२०७४ असारमा बाँकेका स्थानीय तहमा जनप्र्रतिनिधि निर्वाचित भएर आएपछिको अवधिमा बनेका कालोपत्रे, पीसीसी, ग्राभेललगायतको सडकका विषयमा मेरो खुसीले गरेको खोजमा सबैभन्दा बढी ३०५ किलोमिटर सडक स्तरोन्नती (ग्राभेल, इँटा सोलिङ, ट्याक निर्माण) भएको छ । दोस्रोमा कालोपत्रे सडक झन्डै २०० किलोमिटर (१९७.३००) निर्माण गरिएको छ । पीसीसी सडक निर्माण ५७ किलोमिटर भएको छ । भौतिक पूर्वाधारमा दख्खल राख्ने शहरी विकास तथा भवन डिभिजन कार्यालय बाँकेका इन्जिनियर होमनाथ भुसालका अनुसार ६ मिटरभन्दा बढी चौडाइ भएको एक किलोमिटर कालोपत्रे सडक निर्माण गर्न औसत ४ करोड रुपैयाँ, ६ देखि ७ मिटरको सडकमा माटो फिलिङसहित ग्राभेल गर्दा कम्तीमा पनि ५० लाख रुपैयाँ र ४ देखि ६ मिटर चौडाइको पीसीसी सडक प्रतिकिलोमिटर ५० देखि ६० लाख रुपैयाँ लाग्छ । बाँकेमा निर्माण गरिएको सडकमा झन्डै १० अर्ब (९ अर्ब ६८ करोड ८२ लाख ५० हजार) रुपैयाँ खर्चिएको छ । सडक विभागले बनाएका विभिन्न सडक, हुलाकी राजमार्ग, पूर्वपश्चिम राजमार्गको स्तरोन्नती, अन्य निकायबाट निर्माण गरिएका र स्थानीय तहमा निर्माणाधीन र चालु अवस्थाका सडक बजेट बाहेकको हो । बाँकेमा निर्माण गरिएको सडकको दुरी नेपालगन्जबाट संघीय राजधानी काठमाडौं पुगे भन्दा पनि बढी हो । नेपालगन्ज–काठमाडौंको दुरी ५ सय २१.७ किलोमिटर छ ।

जिल्लामा सबैभन्दा धेरै सडक निर्माण गर्ने स्थानीय तहमा नेपालगन्ज उपमहानगरपालिकामा नै बनेको छ (विस्तृत पढ्नुस् तालिका)। नगर प्रमुख डा.धवल शम्शेर राणा भन्छन् ‘अब झन्डै झन्डै सबै ठाउँमा सडक विस्तार भइसकेको छ । सडक निर्माणमा त हामीले कायापलट नै गरेका छौं ।’ जिल्लामा दोस्रो धेरै सडक निर्माण खजुरा गाउँपालिकामा भएको छ । ‘हरेक वडाको सडक कालोपत्रे भएको छ’, गाउँपालिका अध्यक्ष किश्मतकुमार कक्षपति दाबी गर्छन्, ‘हाम्रो ५ वर्षे कार्यकालमा एक सय किलोमिटर सडक कालोपत्रे गरिसक्ने लक्ष्य छ ।’
बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचाल ठकुरीका अनुसार सबै प्रकारका ३५ किलोमिटर सडक निर्माण गरिएको छ । कोहलपुर नगरपालिकामा भने अन्य स्थानीय तहको तुलनामा सडक कम बनेको छ । नगरपालिकाको पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर बालकृष्ण महतारा क्षेत्रीका अनुसार १४ किलोमिटर कालोपत्रे र १८ किलोमिटर ग्राभेल सडक निर्माण गरिएको छ । राप्ती सोनारी गाउँपालिकामा ग्राभेल बाटो धेरै बनेको छ । गाउँपालिका अध्यक्ष लाहुराम थारुका अनुसार साढे १२ किलोमिटर बाटो कालोपत्रे गरिएको छ । ६० किलोमिटर ग्राभेल र २ किलोमिटर पीसीसी सडक बनाइएको छ । सबैभन्दा कम कालोपत्रे गर्ने स्थानीय तहमा डुडुवा र नरैनापुर छन् । डुडुवामा ८०० मिटर र नरैनापुरमा ३ किलो मिटर मात्र सडक कालोपत्रे भएको छ । ‘बाटो नै थिएन । कतै बाटो चौडा बनाउने त कतै नयाँ बाटो खोल्ने काम गरेका छौं । पक्की सडक धेरै बनाउन सकेका छैनौं,’ गाउँपालिका अध्यक्ष इस्तिायाक अहमद शाहले यर्र्थाथता दर्शाए । जानकी गाउँपालिकामा ६ किलोमिटर कालोपत्रे र १० किलोमिटर सडक ग्राभेल भएको गाउँपालिका अध्यक्ष रामनिवास यादवले जानकारी दिए । जिल्लाका स्थानीय तहमा भएको विकास हेर्दा ‘विकास भनेको सडक’ जस्तो भएको छ । जनप्रतिनिधिले देखाउने विकास र स्थानीयको माग गर्ने विकास पनि सडक हुँदा जिल्लामा ‘सडके विकास’ले छलाङ मारेको छ ।