राप्ती खानेपानी आयोजना निर्माणमा ढिलाइ

नेपालगन्ज : राप्ती खानेपानी आयोजना निर्माणमा ढिलाइ भएको छ ।
नेपालगन्जमा खानेपानीको समस्या समाधान गर्न राप्ती नदीबाट दैनिक २ करोड ५० लाख लिटर पानी ल्याउन थालिएको आयोजनाको काममा ढिलाइ भएको हो । आर्थिक वर्ष २०७३ र ०७४ देखि सुरु भएको योजना अन्तगर्त गत पुस मसान्तमा सक्नुपर्ने भए पनि हालसम्म ६० प्रतिशत मात्र निर्माणको काम सकिएको नेपाल खानेपानी संस्थान नेपालगन्जले जनाएको छ । आयोजना अन्तगर्त राप्ती नदी किनारमा सम्वेल निर्माण गरी त्यहाँबाट करिव १७ किलोमिटर पाइपलाइन बिच्छ्याएर पानी ल्याउने योजना रहे पनि निर्माणस्थल आसपासको जग्गा सम्बन्धी विवाद र अन्य विभिन्न अवरोधका कारण आयोजनाले गति लिन नसकेको संस्थान शाखा कार्यालय नेपालगन्जका प्रमुख हरिकुमार श्रेष्ठले बताए । हाल सो क्षेत्रको जग्गा प्राप्ती, उपमहानगरपालिकाको पिँच खन्ने अनुमति र ट्रस्ट ब्रिज लगायतका समस्या समाधान हुने प्रक्रियामा रहेकोले वैशाखको अन्तिमसम्म पानी तानेर परीक्षणमा ल्याइने तयारी रहेको श्रेष्ठले प्रष्ट पारे ।