भवन निर्माणमा जुट्यो, अवधी पत्रकार संघ

अवधी पत्रकार संघको बाँकेको डुडुवामा सम्पन्न भेला । फोटो सौजन्य : भीष्म लोध

नेपालगन्ज : अवधी पत्रकार संघ नेपाल केन्द्रीय समिति नेपालगन्ज भवन निर्माणमा जुटेको छ ।
बाँकेको डुडुवा गाउँपालिका–५ कम्मरशाह बाबा मजारमा संघको केन्द्रीय समिति र संघ बाँके शाखाको संयुक्त रुपमा शनिबार सम्पन्न भेला तथा प्रशिक्षण कार्यक्रमले भवन निर्माण कार्यलाई तिब्रता दिने निष्कर्ष निकालेको हो । भेलामा सहभागी अतिथिहरूले संघको भवन निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ बसपार्क क्षेत्रमा २ कठ्ठा २ धुर जग्गामा २ तले भवन निर्माण गर्ने तयारीमा जुटेको छ ।

अवधी पत्रकार संघको नेपालगन्ज -४ बसपार्क क्षेत्रमा रहेको जग्गामा संघका पदाधिकारीहरु । फोटो : राकेश मिश्रको फेसबुकबाट

भेलामा संघका केन्द्रीय अध्यक्ष राकेश मिश्रले प्रेस स्वतन्त्रता सेनानीद्वय पन्नालाल गुप्त र राम गोपाल वैश्यको स्मृतिमा पन्ना–रामगोपाल अवधी पत्रकारिता पुरस्कार लागि अक्षय कोष स्थापना गरेको जानकारी गराउँदै कोषमा आफूले ११ हजार सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । संघले अक्षय कोषका लागि सबैलाई सहयोग गर्न अनुरोध गरेको छ । २०६३ सालमा स्थापना भएको संघको बाँके, बर्दिया, दाङ, कपिलवस्तु, नवलपरासी काठमाडौं र सुर्खेत ७ जिल्लामा शाखा गठन गरिएको संघका बाँके शाखा अध्यक्ष चन्द्रेश्वराज त्रिपाठीले बताए ।