एसओएसको ‘क्यारियर काउन्सिलिङ’ सम्पन्न

बरिष्ठ पत्रकार पूर्णलाल चुकेलाई मायाको चिनो प्रदान गर्दै एसओएस बालग्राम सुर्खेतका निर्देशक मुकुन्दकुमार गिरी

नेपालगन्ज : एसओएस बालग्राम सुर्खेतको आयोजना तथा युवालय नेपालगन्जको संयोजनमा शनिबार नेपालगन्जमा क्यारियर काउन्सिलिङ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा वरिष्ठ पत्रकार पूर्णलाल चुकेले एस.ओ.एस.का संस्थापक डा. हर्मन माइनरको उच्च अवधारणाबाट जोखिममा परेका र अभिभावक गुमाउन वाध्य बालबालिका तथा युवाहरुलाई संरक्षण, पालनपोषण र शिक्षादीक्षा दिएर देशको योग्य नागरिक बनाउन राज्यले लिनुपर्ने अभिभारा र दायित्व एसओएसले बहन गरेकोमा प्रशंशा गरेका थिए । एसओएस बालग्राम सुर्खेतका निर्देशक मुकुन्दकुमार गिरीले पारिवारिक स्याहार कार्यक्रम अन्तर्गत एसओएस बालग्राम सुर्खेतबाट हुर्की आएका बालबालिकाहरुलाई प्रवेशिका परीक्षापछि नेपालगन्ज युवालयमा ल्याएर उचित शिक्षा र सीप प्रदान गरी एक असल नागरिक सरह स्वावलम्बी बनाइ समाजमा पुनःस्थापना गर्ने काम भइरहेको जानकारी दिए ।
कार्यक्रममा फत्तेबाल आँखा अस्पतालका डा. देवराज भारती, बर्दिया मैनापोखरका सफल उद्योगपति दीपक खनाल, स्प्रिङ्डेल बोर्डिङ स्कुलका संस्थापक शरद रावलले उत्प्रेरणात्मक मन्तव्य व्यक्त गरेका थिए । एसओएसमा हुर्किएर पारिवारिक तथा सामाजिक जीवनमा प्रवेश गरेर स्वावलम्वनतर्फ उन्मुख भएका सावित्री त्रिपाठी, मेडिकल कलेजकी नर्सिङ बिना बुढाथोकी, अधिवक्ता उर्मिला नेपाली, नेपाली सेनाबाट अवकाश प्राप्त खडानन्द पौडेल, कुखुरा पालन व्यवसाय सञ्चालक भक्तबहादुर सोमाइ, ओभरसियर नेपाल लाइफका सुपरभाइजर धर्मराज जैसी, लेखन व्यवसायी लालबहादुर रोकायले आफ्नो जीवनमा भोगेका अनुभव र एसओएसबारे आ–आफ्ना धारणा राखेका थिए ।
एसओएस युवालय नेपालगन्जका नायव निर्देशक विश्वासले कोरोना संक्रमणका कारण विश्व आर्थिक मन्दीको अवस्थामा पनि एसओएसले आफ्ना बालबालिकालाई उचित हेरचाह र उनीहरुले चाहे अनुसार स्तरीय शिक्षा दिंदै सामाजिक सुरक्षा अधिकारका लागि गम्भीर हुँदै पारिवारिक स्याहार कार्यक्रम र सामाजिक सेवा केन्द्रलाई निरन्तरता दिइरहेको बताए । कार्यक्रममा एसओएस बालग्राम सुर्खेतका निर्देशक मुकुन्दकुमार गिरीले अतिथिहरुलाई मायाको चिनो प्रदान गरेका थिए । एसओएस बालग्राम सुर्खेतका निर्देशक मुकुन्दकुमार गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाँके, बर्दिया र सुर्खेतका एसओएसका ५० जना युवा तथा बालबालिकाको सहभागिता रहेको सुपरभाइजर लक्ष्मण कार्कीले जानकारी दिए ।